????????????????????????????????????

म्याग्दी : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधीन ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ। यो आयोजनाको काम एक वर्षमै ५० प्रतिशतभन्दा बढी पूरा भएको हो।

अन्नपूर्ण हिमालको फेदीबाट बग्ने रेलेखोलाको पानी उपयोग गरी निर्माण भइरहेको यस आयोजनाको निर्माण करिब ५० प्रतिशत पुरा भएको निर्माण कम्पनीले जनाएको छ। हिमकन्सल्ट प्रालिले नदीको बहावमा आधारित रन अफ रिभर मोडलमा ‘पाइप प्रोजेक्ट’ मार्फत यस आयोजनालाई निर्माण गर्न लागेको हो।

२०७३ देखि नारच्याङको बेसीदेखि लेकगाउँ हुँदै आयोजना निर्माण स्थलतर्फ पहुँचमार्ग निर्माण सुरु गरेको यस आयोजनाले गत वर्षको फागुनदेखि आयोजनाको निर्माण सुरु गरेको थियो।

आगामी असारसम्ममा पूर्वाधार निर्माणको काम सक्ने लक्ष्य रहेको आयोजनाका इन्जिनियर आयुष भट्टराईले जानकारी दिए। ‘आयोजनाको बाँध स्थल, पाइपलाइन र विद्युत् गृहतर्फको काम तीव्र रुपमा अघि बढेको छ , दैनिक रुपमा १३० जना बढी मजदुरसँगै उपकरण पर्याप्त मात्रामा परिचालन भएका छन्, चिसो मौसमको प्रतिकुलताबीच पनि निर्माणलाई तिव्रता दिएका छौँ’,इन्जिनियर भट्टराईले भने।

कालोखोलामा बाँध रहेको यो आयोजनाको तीन हजार ६०० मिटर लामो पाइप लाइन मार्फत पानी लगेर हरिस्वाँरामा रहने विद्युत् गृहमा ५०५ मिटर हेडबाट पानी खसालेर बिजुली उत्पादन गरिनेछ। यो आयोजनामा पानी लैजान सुरुङ मार्गको प्रयोग नगरी पेनस्टक पाइपको मात्रै प्रयोग गरिने भएको छ। यो आयोजनामा सिभिलतर्फ साकुरा पावर कन्स्ट्रक्सन कम्पनी, हाइड्रो मेकानिकलतर्फ वर्कसप अफ इन्जिनियरिङ र इलेक्टोमेकानिकलतर्फ फोलो भेल इनर्जी प्रालिले ठेक्का लिएका छन्।

सिभिलतर्फ बाँधतर्फको पचास प्रतिशत बढी काम सकिएको र पाइपलाइन राख्न पाइप ढुवानी र पूर्वाधार निर्माणको काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर लोकबहादुर नायकले बताए। उनका अनुसार, लेकगाउँदेखि विद्युतगृहसम्मको पहुँचमार्ग निर्माण भइसकेर पूर्वाधार निर्माण समेत थालिएको छ।

अहिले बाँध स्थलमा इन्टेक, डिसेन्डर र हेडवक्र्सको काम जारी छ। यस आयोजना निर्माणमा प्रतिमेगावाट २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ।
हिमालय बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बै‌कले समेत ७० प्रतिशत ऋण लगानी गर्ने सम्झौता भएको छ। यो आयोजनाबाट उत्पादन हुने विद्युत् ४ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइन निर्माण गरी कालीगण्डकी कोरीडोर प्रसारण लाइनको दाना सब स्टेसन मार्फत राष्ट्रिय प्रसारणमा जोडिनेछ।

हाइड्रो भिलेजको नामले परिचित नारच्याङमा यसअघि ५ मेगावाटको घलेम्दी खोला र ४२ मेगावाटको मिस्टीखोला जलविद्युत्आयोजना निर्माण सम्पन्न भइसकेका छन्। ​विद्युत् उत्पादनका लागि एक दर्जन बढी आयोजना दर्ता भएको यो वडामा निलगिरी हाइड्रो पावरले निर्माण गर्न लागेको ११० मेगावाट क्षमताको निलगिरी पहिलो र निलगिरी क्यासकेड आयोजनामा समेत निर्माण कार्यले तिव्रता पाएको छ।

गाउँमा सडक पुग्यो, स्थानीयले रोजगार पाए

रेलेखोजा जलविद्युत आयोजनाको कारण नारच्याङको लेकगाउँमा सडक सञ्जालको पहुँच पुगेको छ। लेकगाउँमा मात्रै १२० घरधुरीको बसोबास छ।

बेसीगाउँदेखि लेकगाउँतर्फ सडकको पहुँच पुर्‍याउन स्थानीयबासीले चन्दा संकलन गरेर प्रयास गरे पनि अक्करे भीरको कारण ठूलो लगानीको अभावमा रोकिएको सडकलाई रेलेखोला जलविद्युत् आयोजनाले पूर्णता दिएको वडासदस्य श्याम पुर्जाले जानकारी दिए।

बेसीगाउँदेखि लेकगाउँ जाने बाटोमा रहेको अक्करे भीरमा मात्रै ११ वटा घुम्ती हुँदै सडक विस्तार गरेर लेकगाउँ पुर्‍याइएको छ। यो भीरमा मात्रै सडक निर्माण गर्न तीन वर्षभन्दा बढी समय लागेको थियो। यो आयोजनाले वेसीबाट लेकगाउँसम्मको पाँच किलोमिटर सडक निर्माण गरेपछि मात्रै गाउँमा यातायातको पहुँच पुगेको हो। आयोजनाको पहुँचमार्गका लागि कुल १८ किलोमिटर सडकको  ट्रयाक निर्माण भएको छ।

यो आयोजनाले स्थानीयबासीलाई दक्षता र क्षमता अनुसारको रोजगारको अवसर समेत दिएको छ। सडक निर्माण, स्तरोन्नति, पाइपलाइनको पूर्वाधार निर्माण लगायतका क्षेत्रमा स्थानीयवासीले नै नेतृत्व लिएर काम गरिरहेको आयोजनाका इन्जिनियर भट्टराईले बताए। आयोजनाले स्थानीय काजिभुमे थान निर्माण, क्रान्ति आधारभूत विद्यालयको छानो फेर्न आर्थिक सहयोगसँगै गाउँभित्र सडकको पहुँच विस्तार गर्ने लगायत काम समेत गरेको छ।

thaha khabar ध्रुवसागर शर्मा

Leave a Reply