गण्डकी प्रदेशकै मुख्य लाईफ लाईन मानिएको हिमाली जिल्ला मुस्ताङले पछिल्लो समय पर्यटन क्षेत्रमा अप्रत्यासित छलाङ मार्न सफल भएको छ । बर्सेनि अक्सर ६० हजार विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने गरेकोमा सन् २०२२ मा भने त्यो संख्यामा वृद्धि हुँदै ६५ हजार ९ सय ४० जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले उल्लेख गरेको छ ।

कोरोना कहरअघि औसत ५० हजारदेखि ६० हजारसम्म सार्क तथा तेस्रो मुलुकका विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने गरेकोमा सन् २०२२ मा भने कोरोना अघिको साविकको रेकर्डलाई ब्रेक गर्दै थप ५ हजार ९ सय ४० हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका हुन् ।

सन् २०२२ मा आएका विदेशी पर्यटकमध्ये अधिकांश भारतीय पर्यटक छन्

एक्याप जोमसोमका प्रशासन सहायक कमलराज जोशीका अनुसार सन् २०२२ को डिसेम्बर २७ तारिखसम्म ६५ हजार ९ सय ४० जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका हुन् । जसमध्ये ४६ हजार ७ सय २४ जना सार्क राष्ट्रका र १९ हजार २ सय ६ जना तेस्रो मुलुकका विदेशी पर्यटक छन् ।

सन् २०२२ मा आएका विदेशी पर्यटकमध्ये अधिकांश भारतीय पर्यटक छन् । सन् २०२२ मा ४८ राष्ट्रका विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमले जनाएको छ । मुस्ताङमा कुल पर्यटक भित्रिएकोमध्ये १३ हजार ६ सय २५ जनाले अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मुस्ताङ भित्रिएका हुन् ।

जसअन्तर्गत तेस्रो मुलुकका १३ हजार ४९ जना ,भारतीय ५सय ६५ जना, बंगलादेश ६ जना श्रीलंका ४ र भुटानका १ जना पर्यटक छन् । यसैगरी सन् २०२२ मा ३ हजार ११२ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् ।सन् २०२१ मा भने कोरनाका कारण जम्मा ३ सय १२ जना विदेशीले मात्र उपल्लो मुस्ताङकोल भ्रमण गरेका थिए ।

कोरोना कहरकोसमयमा मुस्ताङमा पर्यटकको उपस्थिति ज्यादै न्यून रहेको एक्याप जोमसोमको तथ्यांकले देखाएको छ । सन् २०२१ मा जम्मा २ हजार ३ सय विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । जसमध्ये भारतीय १ हजार ८८५ जना र तेश्रो मुलुकका जम्मा ४१५ जनाले मात्र मुस्ताङको भ्रमण गरेका थिए ।

सोसमय ६०२ जनाले मात्र उपल्लो मुस्ताङ र राउण्ड अन्न्नपूर्ण पदयात्रा गरेका थिए । यसैगरी सन् २०२० मा कुल २ हजार ३४७ जना विदेशी पर्यटकले मात्र मुस्ताङ भ्रमण गरेका थिए । जसमध्ये १ हजार ९९३ जना भारतीय र ३५४ जना तेश्रो मुलुकका विदेशी पर्यटक थिए ।

मुस्ताङमा अहिलेसम्मकै उच्चसंख्यामा पर्यटक वृद्धि भएको हो । कोरना संक्रमण न्यूनीकरण भएसंगै मुस्ताङको पर्यटन चलायमान अवस्थामा रहेको पर्यटन व्यवसायीको भनाई छ । कोरोना न्यूनीकरण र सडक संञ्जालको सहजतासँगै मुस्ताङको पर्यटन क्षेत्रमा अप्रत्याशित फड्को मारेको होटल ओम्स होमका कर्मचारी हरिबहादुर आलेले जानकारी दिए ।

मुस्ताङमा अप्रत्यशित रुपमा पर्यटन वृद्धि भएकाले मुस्ताङको पर्यटनक्षेत्र र पर्यटन व्यवसायीलाई एकदमै आशावादी र उत्साहित तुल्याएको उनको भनाई छ । पर्यटन क्षेत्रमा निकै राम्रो सुधार देखिएसँगै मुस्ताङका पर्यटन व्यवसायी यही रफ्तारमा पर्यटन वृद्धि हुनेमा आशावादी छन् । मुस्ताङमा सार्क र तेस्रो मुलुकका पर्यटकसहित उल्लेख्य मात्रमा नेपाली आन्तरिक पर्यटकको समेत वृद्धि भइरहेको छ ।

विभिन्न सञ्चार माध्यममा मुस्ताङको धेरै कुरा जानकारी पाएकाले हिउँदको चिसो मौसममा पनि आफूहरु मुस्ताङ घुम्न आएको काठमाडौंका पर्यटक राजकुमार चौधरीले जानकारी दिए । उनले काठमाडौंबाट म्याग्दी हुँदै मोटरसाईकलमा मुस्ताङ आएको र म्याग्दी खण्डमा सडक केही नराम्रो भएपनि मुस्ताङको सडक सहज भएको जनाए । पहिलो पटक मुस्ताङ आएका र यहाँको मनमोहक प्राकृतिक दृश्य भौगोलिक बनाबटले मोहित बनाएको उनले बताए ।

अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)ले मुस्ताङमा आन्तरिक पर्यटकको अभिलेख संकलन नगर्ने भएपनि सन् २०२२ मा झन्डै ५ लाख बढी नेपाली आन्तरिक पर्यटकले मुस्ताङको भ्रमण गर्ने गरेको पाईएको छ । मुस्ताङका भित्रिएका अधिकांश भारतीय पर्यटक मुक्तिनाथ दर्शन गरी फर्किने गरेका छन् भने तेस्रो मुलुकका अधिकांश पर्यटकले अन्नपूर्ण चक्रीय पदमार्गको यात्रा गर्ने गरेका छन् ।

नेपाली आन्तरिक पर्यटकले मुक्तिनाथको दर्शनसँगै चीनसँग सीमाना जोडिएको उत्तरी कोरला नाकाको भ्रमण गर्ने गरेका छन् । कोभिडपछि मुस्ताङको पर्यटन क्षेत्र चलायमान भएसँगै यहाँका पर्यटन व्यवसायीहरु निकै उत्साहित भएका छन् ।  समाधान दैनिक

Leave a Reply