---Advertisement---

महिलाको क्षमता विकास गर्न नारच्याङमा उत्प्रेरणामूलक तालिम

On: January 2, 2023 5:23 PM
Follow Us:

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा नेतृत्व विकास, उद्घोषणकला तथा सकारात्मक सोचसम्बन्धी उत्प्रेरणामूलक तालिम सुरु भएको छ । सिर्जनशील आमा समूह नारच्याङको आयोजना र अन्नपूर्ण–४, नारच्याङ वडा कार्यालयको सहयोगमा हिँजो (आइतबार)देखि तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै नारच्याङका वडा अध्यक्ष लोकबहादुर फगामीले महिलाहरुको क्षमता अभिवृद्धि गर्नका लागि तालिम निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले तालिम अवधिभरमा सिकेका ज्ञान, सिपलाई आगामी दिनमा पूर्ण रुपले व्यवहारमा उतार्नुपर्ने बताउँदै महिलाहरुको नेतृत्व तथा क्षमता विकास हुने अपेक्षा गर्नुभयो । आउँदा दिनमा पनि रचनात्मक कार्यमा आफू र वडा कार्यालयबाट आवश्यक सबै सहयोग गर्ने उहाँको भनाइ छ ।

तालिमका प्रशिक्षक एवं क्रियाशील पत्रकार प्रताप बानियाँले ग्रामीण भेगका महिलाहरुको व्यक्तित्व र नेतृत्वको विकासमा तालिमले सहयोगी भूमिका खेल्ने भन्दै सक्रियतापूर्वक सहभागी भई ज्ञान, सिप हासिल गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो। सिर्जनशील आमा समूहका अध्यक्ष नरिमाया पूर्जा पुन गुरुङले गाउँका महिलाहरुमा क्षमताको विकास गराउनका लागि वडा कार्यालयको सहयोगमा तालिम आयोजना गरिएको जानकारी दिनुभयो । तालिमको उद्घाटनसत्रमा अन्नपूर्ण युवा क्लब नारच्याङका कोषाध्यक्ष चिना थजालीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम आमा समूहका अध्यक्ष गुरुङको अध्यक्षता, सदस्यद्वय तारा रन्तिजाको सञ्चालन र यामकुमारी पूर्जाको स्वागतमा सम्पन्न भएको थियो । तालिममा नारच्याङको आमा समूह, युवा क्लब तथा स्वास्थ्यचौकीबाट सहभागिता रहेको छ । आगामी तीन दिनसम्म चल्ने तालिमको प्रशिक्षक तथा पत्रकारत्रय सुष्मा पौडेल, स्मिता अधिकारी र प्रताप बानियाँले नेतृत्व विकास, उद्घोषणकला, सकारात्मक सोच, वैठक सञ्चालन, माइन्युट उठाउने तथा उत्प्रेरणालगायत विविध विषयहरुमा सहजीकरण गरिरहनुभएको छ ।