म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती गरेर अनेक बहाना देखाएर उन्मुक्तिको प्रयासलाई रोक्ने बताउनुभएको छ । प्रजिअ पौडेलले अलपत्र विकास निर्माण सहित प्रशासनबाट कानुन अनुसारको सेवा जनतालाई सहज रुपमा उपलब्ध हुने प्रतिवद्धता जनाउनुभयो ।

जिल्लामा कार्यरत पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा प्रजिअ पौडेलले सरकारी कार्यालयबाट सेवाग्राहीले पाउने सेवादेखि जिल्लाभित्र भइरहेका विकास निर्माणको नियमन गर्ने निकायहरुसँग आवश्यक समन्वय गरिने बताउनुभयो । ‘जिल्लाबासीको सहजताका लागि आवश्यकता अनुसारको पहल हुन्छ,‘ सरकारी कार्यालयबाट जनताले पाउने सेवाप्रवाहलाई थप प्रभावकारी बनाउँछौ’ प्रजिअ पौडेलले भने ।

गृहमन्त्रालयको निर्देशन अनुसार प्रशासनिक सेवालाई कानुन अनुसार गुणस्तरीय सेवा ध्यान दिने, कानुनी कारबाही सबैमा समान रुपमा कार्यान्वयन गर्ने, जनताले पाउने सूचना र सेवामा निरन्तर लागि पर्ने समेत बताउनुभयो । उहाँले राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय तह, स्वास्थ्य कार्यालय लगायतसंग समन्वय गरेर कोभिड लगायतको महामारीको नियन्त्रण र जोखिमबाट जिल्लालाई बचाउन समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल लगायतका पत्रकारले प्रशासनको सेवाप्रवाहमा जनमैत्री बनाउन र सरकारी कार्यालयको सूचना तथा प्रगति जनताले सहज रुपमा थाहा पाउने वातावरणमा सहजीकरण गर्न, जिल्लाभित्रका अलपत्र योजनालाई गति दिन, सुरक्षा निकायलाई जनमैत्री बनाउन, सरकारी कार्यालयको सेवाप्रवाहमा हुने ढिलासुस्ती लगायतको विषयमा सहजीकरणका लागि ध्यानाकषर्ण गराएका थिए ।

पत्रकार महासंघलाई नगरपालिकाले उपलब्ध गराएको जग्गाको प्रयोगका लागि सहजीकरण गरिदिन समेत पत्रकारले अनुरोध गरेका थिए ।

Leave a Reply