म्याग्दीको बेनी नगरपालिका-९, आयोजित आँखा शिविरबाट साढे चार सय बढीले निःशुल्क आँखाको जाँच गराएका छन्। अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा गलेश्वर मावि तोरिपानी र राष्ट्रिय मावि नेप्टेचौरमा आयोजित शिविरमा विद्यार्थी र स्थानीय गरी ४ सय ८८ जनाको आँखा जाँच गरिएको हो ।
विद्यार्थीको शैक्षिक तथा स्वास्थ्यको क्षेत्रमा सक्रिय रहेको किवानिस इन्टरनेशनलले विद्यार्थी लक्षित गरी चारदिनसम्म म्याग्दीमा सञ्चालन गर्ने शिविरको पहिलो दिन ३५ जनालाई चस्मा र औषधी वितरण गरिएको छ भने ७ जना विद्यार्थी र जेष्ठ नागरिक १२ जनालाई थप उपचारका लागि रिफर गरिएको किवानिस इन्टरनेशनलका गण्डकी प्रदेश उपाध्यक्ष चित्रबहादुर केसीले बताउनुभयो ।
उहाँका अनुसार शिविरमा मोतिया विन्दुको समस्या देखिएकालाई नेपाल आँखा अस्पतालमा निशुल्क उपचार गरिने छ । शिविरमा नेपाल आँखा अस्पतालका बरिष्ठ चिकित्सक डा.इन्दुप्रसाद ढुंगेल र नेत्र विशेषज्ञ बिर्ख बोगटीको टोलीले चेकजाँच गरेको थियो । नेत्र विशेषज्ञ बोगटीले बालबालिकाहरुमा इलेक्ट्रीक डिभाईसको प्रयोगले कलिलो उमेरमै आँखा पर्याप्त हेर्न नसक्ने र श्रवण शक्ति समेतमा असर पुगेको कारण पठनपाठनमा असहज भएकाले नियमित परीक्षण आवश्यक रहेको बताए ।
म्याग्दीमा किवानिस इन्टरनेशनलले विद्यार्थीको आँखा जोगाउँ अभियानसँगै शिक्षकलाई समेत तालिम सञ्चालन गर्ने गण्डकी प्रदेशमा पूर्व अध्यक्ष एवम् समाजसेवी भरत ढुंगेलले बताउनुभयो । किवानिस इन्टरनेशनलले मंगलबार सदरमुकाम बेनीमा रहेका सामुदायिक विद्यालयमा शिविर सञ्चालन गर्ने र आवश्यकता अनुसार विभिन्न समयमा विद्यालयस्तरमा गएर बालबालिकाहरुलाई नियमित आँखा चेकजाँच गर्ने जनाएको छ ।

Leave a Reply