पेटमा अचानक समस्या देखिएपछि गएको पुस १२ गते विहान ५ः१४ बजे बेनी अस्पतालको इमरजेन्सी कक्षमा पुगेका मंगला गाउँपालिका–२,भाईवाङका १३ बर्षिय सुमन आचार्यले समयमै उपचार पाएनन् ।

बिरामीलाई लिएर गएका भागीरथ उपाध्यायले स्वास्थ्यकर्मी भेटेनन् बरु विरामी राख्ने वेडमा दुईवटा भुस्याहा कुकुर सुतेको देखे । एपेन्डिसको समस्याले सताइरहेको बिरामीको प्राथमिक उपचारका लागि निकै सास्ती भएको बताए ।

‘मैले इमरजेन्सीमा धेरैपटक सास्ती भोगेको छु,‘रातीको समयमा खाली हुन्छ, यसपटक पनि विहानै पुगेको अवस्थामा स्वास्थ्यकर्मी भेटिन्’ उपाध्यायले भने । उनले अस्पतालको बेडमा कुकुर सुतिरहेको देखेपछि अचम्मित भएको बताए ।

बिहान र रातीको समयमा इमरजेन्सी कक्षमा खटिएका स्वास्थ्यकर्मी बिचको तालमेल र लापरवाहीका कारण सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । केही स्वास्थ्यकर्मीले आराम गरेको अवस्थामा केही बिरामीको उपचारमा हुनुपर्नेमा सबै भित्र रहेको आराम कक्षमा सुत्दा बाहिर खाली हुने गरेको छ ।

इमरजेन्सी बेडमा सुतिरहेका बिरामीका लागि खटिएका स्वास्थ्यकर्मीले ध्यान नदिदाँ अस्पतालको सेवाप्रवाह बारे गलत सन्देश प्रवाह भएपनि पटक–पटक गुनासो आउँदा समेत सुधार हुन सकेको छैन् ।

५० सैयाको अस्पतालले विभिन्न जटिल रोगको उपचार सहित अन्य सेवाहरू प्रभावकारी बनाउने प्रयास गरेपनि पछिल्लो समयको आकस्मिक कक्षको बेहाल अवस्थामा देख्दा सेवाग्राहीले आक्रोश पोख्ने गरेका छन् ।

गम्भीर अवस्थामा पुगेका बिरामीका लागि छिटो र राम्रो सेवा दिन सञ्चालित अस्पतालका आकस्मिक कक्षमा खटिएका स्वास्थ्यकर्मीको हेल्चेक्राईले नकारात्मक सन्देश प्रवाह भएपछि सचेत बनाइएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्षा ज्ञानेन्द्र सुबेदीले बताए ।

‘सेवाग्राहीका गुनासो सम्बोधन गरेका छौ,‘आकस्मिक कक्षको समस्या अब समाधान हुन्छ’ अध्यक्ष सुबेदीले भने । बिरामीको छिटो र राम्रो उपचारका लागि बनेको कक्ष अस्तव्यस्त अवस्थामा भने नभएको अध्यक्ष सुबेदीको भनाई छ । उनले केही स्वास्थ्यकर्मीको लापरवाही भएपनि सम्रगमा सेवाप्रवाह बिरामीमैत्री रहेको बताए ।

अस्पताल ब्यवस्थापन समितिले भर्ना गरेका स्वास्थ्यकर्मीले सेवासुविध थप सहितका मागहरु राखेको र केहीले मौखिक जानकारी दिएर विदामा समेत बसेको अवस्थामा भेटिएको छ ।

यता अस्पताल प्रमुख एवं मेडिकल सुपरिटेन्डेन्ट डा. शंकरराज लामिछानेले अस्पताललाई नमुना बनाउन सबैको साथ र सहयोग आवश्यकता रहेको बताए । उनले अस्पताललाई व्यवस्थित बनाउन लागि परेको बताए ।

‘आकस्मिक कक्षको आफ्नै मान्यता र मापदण्ड हुन्छ, हामीले जनशक्तीलाई कमजोरी सच्चाउन निर्देशन दिन्छौ, अब कडा निगरानी पनि हुन्छ’ डा. लामिछानेले भने ।

उनले अस्पतालमा कमीकमजोरी भएपनि पूर्वाधार र जनशक्ति अभावका बाबजुत पनि खटिएर सेवा दिएको बताए ।बहिरंग,शल्यक्रिया सहितका अन्य सेवाहरूबाट सेवाग्राही सन्तुष्ट रहेका अस्पतालको दावी छ ।

Leave a Reply