म्याग्दीका बालबालिकामा आँखाको दृष्टि कमजोर भइरहेको देखिएको छ । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा बेनी नगरपालिकाका विभिन्न विद्यालयमा आयोजित शिविरमा विद्यार्थीको आँखा जाँचका क्रममा अधिकांसको दृष्टि दोषको समस्या बढ्दै गएको देखिएको हो ।

दुईदिन देखि जारी निजी र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा गरिएको आँखा चेकजाँचमा दृष्टि दोषको समस्या अधिक रहेको नेपाल आँखा अस्पतालका दृष्टि विशेषज्ञ बिर्ख बोगटीले बताए ।‘विद्यार्थीमा दृष्टीदोषको समस्या बढ्दै गएको छ,‘ग्रामिणभन्दा सहरी क्षेत्रका बस्ने बालबालिकामा समस्या देखिएको छ’ बोगटीले भने ।

उनले कोठाभित्र बसेर विद्युतीय उपकरणको प्रयोग, खानपानमा हेल्चेक्राई,खेलकुद तथा नियमित शाररीक अभ्यासमा कम हुनुका साथै आधुनिक अत्यधिक मात्रामा विद्युतीय उपकरणको प्रयोगले बालबालिकाको आँखामा समस्या देखिएको बताए। बालबालिकालाई पोषिलो खानेकुरा,अनिवार्य खुवाउनुपर्ने र मोबाइल, टीभी, ल्यापटपजस्ता विद्युतीय सामग्री धेरै बेर हेर्न वा प्रयोग गर्न रोक लगाउनुपर्ने बताए ।

किवानिस इन्टरनेशनलले संस्थामार्फत बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर मावि र राष्ट्रिय मावि, सदरमुकाम बेनीमा अवस्थित बेनी सामुदायिक मावि र बेनी आवासीय माविका विद्यार्थी,अभिभावक सहित स्थानीय गरी १४ सय जनाको आँखा परीक्षण गरेको थियो । उक्त शिविरमा ३० विद्यार्थीलाई थप उपचारका लागि रिफर र ५० बढीले अनिवार्य चस्माको प्रयोग गर्नुपर्ने बताइएको थियो ।

संस्थाले म्याग्दीका विद्यालयका शिक्षकलाई आँखा सम्बन्धि उपचारमा सहज हुने गरी तालिम तथा बार्षिक रुपमा शिविर सञ्चालन गर्ने किवानिस इन्टरनेशनलका गण्डकी प्रदेश उपाध्यक्ष चित्रबहादुर केसीले बताए । शिविरमा नेपाल आँखा अस्पतालका बरिष्ठ चिकित्सक डा.इन्दुप्रसाद ढुंगेल र दृष्टि विशेषज्ञ बिर्ख बोगटीको टोलीले चेकजाँच गरेको थियो ।

म्याग्दीमा किवानिस इन्टरनेशनलले विद्यार्थीको आँखा जोगाउँ अभियानसँगै शिक्षकलाई समेत तालिम सञ्चालन गर्ने गण्डकी प्रदेशमा पूर्व अध्यक्ष एवम् समाजसेवी भरत ढुंगेलले बताए ।

किवानिस इन्टरनेशनलले मंगलबार सदरमुकाम बेनीमा रहेका सामुदायिक विद्यालयमा शिविर सञ्चालन गर्ने र आवश्यकता अनुसार विभिन्न समयमा विद्यालयस्तरमा गएर बालबालिकाहरुलाई नियमित आँखा चेकजाँच गरी निःशुल्क चस्मा उपलब्ध गराउँछ  भने मोतियाविन्दु भएका विधार्थीलाई पनि निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको छ ।

 

 

Leave a Reply