अमेरिकी समाचार च्यानल सिएनएनले सार्वजनिक गरेको सन् २०२३ मा घुम्नैपर्ने विश्वका विभिन्न देशका २३ स्थानहरुमध्ये नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ।

सिएनएनले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वको संक्षिप्त वर्णन गर्दै संसारका २३ स्थानहरु मध्ये नेपालको मुस्ताङ पनि सन् २०२३ मा घुम्नैपर्ने पर्यटकीय स्थलको रुपमा रहेको बताएको हो।

मुस्ताङको वर्णन गर्दै सिएनएनले भनेको छ ‘हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउन प्राचिन ट्रेलहरूबाट हिमाल पदयात्राका लागि प्रसिद्ध नेपालको अचम्मको मुस्ताङ उपत्यका तिब्बतको द्वारमा रहेको छ।’

मुस्ताङ पदयात्राका लागि त प्रख्यात छ नै। यहाँ घुम्न आउने पर्यटकहरूले प्राचिन गाउँहरू र बौद्ध गुम्बाहरू ‘एक्सप्लोर’ गर्न सक्ने सिएनएनले भनेको छ।

मुस्ताङमा कालीगण्डकी नदी माथि रहेको मानव निर्मित गुफा २ हजार वर्ष पुराना बौद्ध मूर्तिकला र चित्रहरूले भरिएका छन्। मुस्ताङ आउँदै गर्दा यो पनि छुटाउन नहुने सिएनएनले बताएको छ।

चाँडै खुल्न लागेको शिन्ता मणि मुस्ताङका कारण पनि आगामी महिनाहरूमा यो दुर्गम गन्तव्यबारे धेरै कुरा सुन्न पाइने आशा गरिएको छ

मुस्ताङ उपत्यका पुग्नु साहसिक अनि रोमाञ्चक कार्य हो। राजधानी काठमाडौंबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को २० मिनेटको उडानमा जोमसोमको यात्रा गरेर पनि यात्रीहरूले मुस्ताङ जान सक्नेछन्।

बसमा यात्रा गर्न चाहनेहरू भने काठमाडौंबाट १२ घन्टाको यात्रामा मनोरम अनि सुन्दर दृश्यहरू हेर्दै गन्तव्यमा पुग्न सक्नेछन्।

सूचीमा पोल्यान्ड, पश्चिम अष्ट्रेलिया, बेलायतको लिभरपुल, साउथ क्यारोलिनाको चार्लेस्टन, लिथुआनियाको भिलनियस, फिजी, ब्राजिलको मानाउस पनि परेको छ।

सूचीमा रहेका अन्य घुम्नैपर्ने ठाउँमा ग्रिसको थेसालोनिकी, रुवान्डा, स्वीडेनको गोथेनबर्ग, यूएईको रास अल–खाइमाह, लाओस, स्वीटजरल्यान्डको ग्रुयर्स, मिनेसोटाको मिनिआपोलिस, कोलम्बिया बोगाटा, तान्जानिया, इजिप्टको कायरो, जापानको नाओशिमा, बेलिज, मेक्सिकोको ओआसाका, क्यानडाको ओट्टावा, युगन्डा पनि सूचीमा छन्।

यसैगरी, गएको वर्षको अन्त्यसम्ममा अन्तर्राट्रिय पयर्टन कोभिडको महामारी सुरु हुनुअघिको भन्दा ६५ प्रतिशत आसपास पुगेको हुन सक्ने अनुमान संयुक्त राष्ट्रसंघको विश्व पयर्टन संगठनको छ।

केही क्षेत्रमा पयर्टन सन् २०१९ को तुलनामा ८०-९० प्रतिशतको हाराहारीमा पुगिसकेको तथ्यांक सार्वजनिक भएका छन्।

चीन, जापानसमेत विश्वका केही देशहरुमा कोभिडको महामारी विष्फोटक रूपले बढिरहेको भए पनि अन्तर्राष्ट्रिय यात्रामा निरन्तर सुधार हुने आशा विज्ञहरूले गरिरहेका छन्।

मुस्ताङमा पनि सन् २०२०÷०२१ मा ओरालो लागेको पर्यटन व्यवसाय सन् २०२२ मा आशालाग्दो गरी सुधार भएको मुस्ताङका पर्यटन व्यवसायीहरुले बताएका छन्।

सन् २०२२ मा करिब ६६ हजार विदेदी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले जनाएको छ।

जोमसोमस्थित एक्याप इलाका कार्यालयका अनुसार सन् २०२२ मा ६५ हजार नौ सय ४० विदेशी पर्यटकले मुस्ताङ भ्रमण हुन्।

एक्यापका अनुसार ४८ देशका पर्यटक मुस्ताङ घुम्न आएका हुन्। कोरोना महामारी अघि मुस्ताङमा अधिकतम वार्षिक ६० हजारसम्म पर्यटक आएको तथ्याङ्क छ। सन् २०२१ मा दुई हजार तीन सय पर्यटक भित्रिएकामा ६ सय दुईजना उपल्लो मुस्ताङ भ्रमणमा गएका थिए।

मुस्ताङको पर्यटन दुई वर्षपछि पुरानै लयमा फर्केपछि यहाँका व्यवसायी खुसी भएका छन्। थाहाखबर

Leave a Reply