उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भूरुङ–तातोपानी, ३ नम्बर वडा दाना र ६ नम्बर वडाको पोखरेबगर क्षेत्रमा बजार अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा हिँजो (मङ्गलवार) अन्नपूर्णको तीन ठाउँमा सञ्चालित पसलहरुको अनुगमन गरिएको हो ।

दानामा ८ ओटा, भूरुङ–तातोपानीमा ४ र पोखरेबगर तथा रातोपानी क्षेत्रमा ७ गरी कुल १९ वटा खाद्यान्न एवं किराना पसलहरुको अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले जनाएको छ । अनुगमन गरिएका खाद्यान्न पसलहरुमध्ये दाना क्षेत्रमा सञ्चालित अधिकांश किराना तथा खाद्यान्न पसलबाट म्याद सकिएका दैनिक उपभोग्य सामानहरु बिक्री वितरण गरेको पाइएको छ ।

अनुगमनको क्रममा दाना क्षेत्रमा होटल तथा रेष्टुरेण्टको नाममा पसल दर्ता गरेर खाद्यान्न र किराना सामानहरु बिक्री वितरण गरिरहेको पाइएको छ । खाद्यान्न र किराना पसलहरुबाट खाद्य तथा पेयपदार्थलगायत दैनिक उपभोग्य सामानहरु उपभोग गर्ने म्याद सकिएको भेटिएका थिए । म्याद सकिएका दैनिक उपभोग्य खाद्यान्न सामानहरु भेटिएपछि जफत गरेर नष्ट गरिएको छ । अनुगमनको क्रममा तीन ठाउँमा गरी कुल ८२ हजार रुपैयाँ बराबरको म्याद नाघेको सामानहरु नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका खाद्य निरीक्षक प्रेम अर्यालले बताउनुभयो ।

अनुगमन गरिएका पसलहरुमा साइनबोर्ड नटाँसेको, एउटा नाममा दर्ता गरेर अर्कै नामको पसल सञ्चालन गरेको, पसलमा मूल्यसुची नराखेको, होटल दर्ता गरी किराना पसल चलाएको, दर्ता भएको पसल लामो समयसम्म पनि नवीकरण नगरेको जस्ता कमी कमजोरीहरु भेटिएका छन् । पसलहरुमा अनुगमन गर्दा ठूलो मात्रामा म्याद सकिएका दैनिक उपभोग्य सामानहरु टाँसीमा राखेर बिक्री वितरण गरेको पाइएको छ ।

अनुगमन टोलीले दर्ता नभएको पसललाई तुरुन्तै दर्ता गर्न तथा कानुनी प्रक्रिया पुरा गरेर मात्रै सञ्चालन गर्न, पसल नवीकरण गर्न र म्याद नाघेका दैनिक उपभोग्य सामानहरु अलग्गे राखेर सम्बन्धित कम्पनीमा फिर्ता गर्नका लागि निर्देशन दिएको जनाएको छ । खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गर्दा दैनिक उपभोग्य सामानहरुतर्फ चाउचाउ, बिस्कुट, आटा, घ्यु, दालमोठ, कोकाकाला, स्प्राइट, क्यानबियरलगायत चिसो पेयपदार्थहरुको म्याद सकिएको भए पनि पसलबाट बिक्री वितरण भैरहेको पाइएको थियो ।

म्याद सकिएका सामान बिक्री वितरण नगर्न र कानुनी प्रक्रिया पुरा नगरेका पसलहरुलाई तुरुन्तै प्रक्रिया पुरा गरेर मात्रै पसल सञ्चालन गर्न निर्देशन दिइएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका कम्प्युटर अपरेटर सन्तोष ढुङ्गानाले बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको अगुवाइमा भएको अनुगमनमा पर्यटन तथा उद्योग कार्यालय म्याग्दी, जिल्ला प्रशासन तथा प्रहरी कार्यालय, अन्नपूर्ण गाउँपालिका लगायतको सहभागिता थियो ।

Leave a Reply