गर्मी याममा सामान्य जनजीविका हुने मुस्ताङमा जाडोको याम भने प्रतिकूल हुने गरेको छ। मंसिर, पुस र माघ महिनामा तापक्रम माइनसमा पुग्दा बग्दै गरेका खोला र धारामा झर्दै गरेको पानी जमेर सिसा जस्तै बन्छ।

हिमाली जिल्ला मुस्ताङका बस्तीहरू कोही हिमालकै काखमा छन् त कोही हिमालको सम्मुखमा। चिसोकै कारण हिमताल पनि जमेका हुन्छन्। चिसो याममा पहाडी क्षेत्रमै जनजीविका कष्टकर बनेको हुन्छ। हिमाली क्षेत्रको अवस्था सहज हुने त कुरै भएन।

स्थानीय बासिन्दाका अनुसार केही दिनयता अत्यधिक चिसो बढेपछि धारा, खोला, ताल तलैया जम्दा जनजीवन कष्टकर भएको छ।

कागबेनीमा होटल व्यवसाय गर्दै आएका स्थानीय छेप्तेन गुरुङका अनुसार तल्लो मुस्ताङकै अवस्था कष्टकर भएका वेला उपल्लो मुस्ताङमा झनै चिसो हुन्छ।

अहिले हिमपात नभइसकेको भए पनि चिसो वातावरणका कारण घरबाहिर निस्केर दैनिक क्रियाकलाप सञ्चालन गर्न समस्या हुन थालेको छ।

‘यो वेला चिसो निकै बढेको छ। तापक्रम त माइनसमा हुन्छ। चिसोले खोलानालामा बगिरहेको पानी जमेर बरफ बन्छ। तालमाथि मान्छेहरू उफ्रने, बस्ने गर्दै फोटो खिचेर रमाइरहेका हुन्छन्।

‘घरपझोङको कैसाङ क्याम्प नजिकै रहेको क्षमा ताल पूरै बरफ बनेको छ’, गुरुङ भन्छन्, ‘चिसो बढेपछि कोही त कपडा, सिद्रा, जिम्बु लगायत सामग्री र हिमाली जडीबुटी बिक्री गर्न बेँसी झर्छन्। पोखरा, म्याग्दीतिर घर भएकाहरू उतै गएर बस्छन्। गर्मी शुरु भएपछि मात्रै गाउँ फर्किन्छन्। बेँसी नझरी यहीँ बसिरहेकाहरूको अवस्था जहिले पनि कठिन भएको हुन्छ।’

घरपझोङ गाउँपालिकामा पर्ने तथा समुद्री सतहबाट ३२ सय मिटरको उचाइमा रहेको नीलगिरि हिमालको फेदीमा रहेको क्षमा तालको पानी जमेर समथर सतह बनेको छ।

चिसोका कारण धेरै मानिसहरू घर छाडेर पोखरा र आसपासका जिल्लामा व्यापार गर्न झर्दै आएका छन्। चौँरी, याक, भेडा च्याङ्ग्राका कुरुवा तथा आर्थिक अवस्थाका कारण बेँसी झर्न नसक्ने अवस्था रहेका व्यक्ति र व्यवसायीहरू भने गाउँमै रहने गरेका छन्।

चिसोका कारण मुस्ताङका विद्यालयहरूलाई घुम्ती रूपमा सञ्चालन गर्ने गरिएको छ। जाडो याममा शिक्षक र विद्यार्थीहरू पोखरामा रहेर अध्ययन अध्यापन गर्ने गरेका छन्। सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरू भने त्यहीँ बस्नुपर्छ।

उत्तरी मुस्ताङको लोमान्थाङ बजारमा पनि मानिसहरू कमै मात्रामा रहेका छन्। उपल्लो मुस्ताङ जाने सडक क्षेत्र तथा बजारमा रहेका अधिकांश होटल पनि बन्द रहेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन्। चिसोले जनजीवन अत्यधिक कष्टकर बन्न पुगेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरुङले बताए।

‘हिउँदका महिना स्थानीय बासिन्दाका लागि ज्यादै कष्टकर हुन्छ। यहाँ बसेर दैनिकी चलाउन सकिँदैन। सकिँदैन भनेर नबसेर पनि हुँदैन’, उनले भने, ‘चिसोबाट बच्न र दैनिक रूपमा जीवन चलाउन कठिन हुन्छ। कोहीले दाउरा बालेर आगो ताप्छन्। कोही घरभित्रै बसिरहेका हुन्छन्। बाहिर हिँडडुल गर्न कठिन छ।’

घरका धारा, ट्वाइलेट र बाथरुममा आउने पानी जमेर धारोबाट नखस्दा पानीको समेत समस्या हुने गरेको छ। प्रयोग ल्याउनुपर्ने पानी मानिसलाई जस्तै तातो ठाउँमा राख्नुपर्ने वा तताएर मात्रै प्रयोगमा ल्याउन सकिने अवस्था रहन्छ।

चिसो बढेपछि उपल्लो मुस्ताङको नरसिंह खोला, समर खोला, घिलिङ खोला, घमी खोला, चराङ खोला, लोमान्थाङ खोला र छोसेर क्षेत्रका खोलानाला र पानी पूरै जमेको छ। कालीगण्डकी करिडोर सडकमा पर्ने ती खोलामा पुल बनाउने काम भइरहेका कारण अहिले खोला जम्दा यातायात समेत अवरुद्ध भएको छ।

उपल्लो मुस्ताङ पुग्ने पर्यटक र स्थानीय बासिन्दा खोला जमेर यातायात अवरुद्ध हुँदा प्रभावित बनेका छन्। सामान ढुवानी समेत प्रभावित बनेको अध्यक्ष गुरुङले बताए।

उपल्लो मुस्ताङकै जस्तो अवस्था नरहेको भए पनि चिसोले तल्लो मुस्ताङ पनि प्रभावित छ। ताल जमेका छन् भने जोमसोम, मुक्तिनाथ, कागबेनी, मार्फामा पनि बिहान धारामा पानी आउन छाडेको छ।

बेलुका नै भाँडोमा पानी नराख्ने हो भने धारा जमेर शौचालय जान समेत नसकिने अवस्था रहेको जोमसोमका होटल व्यवसायी गुरुङले बताए।

मुस्ताङमा यो समयको चिसोमा अहिलेसम्म हिमपात नभएको अवस्थामा पनि उपल्लो मुस्ताङमा बिहान र बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको छ। तल्लो मुस्ताङमा पनि बिहान र बेलुकीको तापक्रम माइनस १० डिग्रीसम्म पुग्छ।

चिसोले स्थानीय बासिन्दा घरबाहिर निस्कन सक्दैनन्। चिसोका कारण बाहिर काम गर्ने अवस्था नहुँदा विकास निर्माणका काम पनि प्रभावित भएका छन्। थाहाखबर

Leave a Reply