आगामी पुस २८ देखि माघ ७ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा हुने सातौ म्याग्दी महोत्सवमा नगर तथा गाउँपालिकाको वडास्तरीय बास्केटबल प्रतियोगिता हुने भएको छ ।

जिल्लामा बास्केटबलको क्रेज बढदो अवस्थामा रहेकाले वडास्तरबाटै खेलाडीको पहिचान गर्ने गरी महोत्सवको अवसरमा प्रतियोगिताको आयोजना गरिएको म्याग्दी बास्केटबल संघका अध्यक्ष यामराज पुर्जाले बताउनुभयो । ‘यसपटक वडास्तरबाटै खेलाडीको पहिचान भएपछि थप खेलकुद गतिविधिलाई सहज हुन्छ,‘म्याग्दीमा बास्केटबलको क्रेज धेरै छ’ अध्यक्ष पुर्जाले भन्नुभयो ।

प्रतियोगिताका लागि बेनी नगरपालिका सहित ५ वटै गाउँपालिकामार्फत वडास्तरसम्म पत्रचार गरिएको खेलकुद ब्यवस्थापन उपसमितिका संयोजक हिमाल श्रेष्ठले बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा महोत्सवका साथै गण्डकी प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलामा बास्केटबल प्रतियोगिता हुने भएपछि खेलाडी समेत उत्साहित छन् ।

जिल्लाको ग्रामिण क्षेत्रमा बास्केट बलको पूर्वाधार समेत विस्तार भइरहेको छ भने सुविधासम्पन्न बास्केटबल कोर्ट सहितको पूर्वाधारका लागि समेत संघमार्फत पहल भइरहेको छ । फाइवर बोर्ड, रातमा पनि खेल्न मिल्ने लाइट सहितको उपयुक्त पूर्वाधारका लागि खेलाडीले समेत माग गरेका छन् । म्याग्दीका बास्केटबल खेलाडीले प्रदेशस्तरमा विभिन्न पदक समेत जितेका छन् । तेक्वान्दो, कराते, उसु खेल सरह बास्केटबलले समेत पदक जित्न थालेपछि यसपटकदेखि प्रतियोगिताको आयोजना गरिएको हो ।

Leave a Reply