हिमाल पारीको जिल्ला मुस्ताङको तापक्रम यति वेला माइनस १५ डिग्री सेल्सियससम्म झरेको छ। बग्दै गरेको खोला र धाराको पानी जमेको छ।

हिमतालको पानी जमेको छ भने कतिपय उच्च स्थानमा हिउँ जमेको छ। चिसोका कारण स्थानीय बासिन्दाको दैनिकी कष्टकर बनेको छ। घरबाहिर निस्केर गर्नुपर्ने काम गर्न समस्या यो वेला हुन्छ।

भौगोलिक र मौसमी रूपमा पनि चुनौतीपूर्ण रहेको मुस्ताङमा यही अवस्थामा पनि पर्यटकहरूको आकर्षण भने घटेको छैन। चिसोका कारण जनजीवन अस्तव्यस्त भएका वेला पनि तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्म पर्यटक दैनिक रूपमा घुमघामका लागि पुगिरहेका छन्।

प्रहरी चौकी घाँसा मुस्ताङका अनुसार यति वेला दैनिक करिब एक हजार पर्यटक मुस्ताङ पुगिरहेका छन्। यीमध्येका करिब सातजना भारतीय पर्यटक रहेका छन्। दैनिक तीन सयजनाको आसपासमा आन्तरिक पर्यटक पुगिरहेको मुस्ताङमा अन्य देशका पर्यटकहरूको चाप भने यतिखेर घटेको छ।

कागबेनीमा होटेल सञ्चालन गर्दै आइरहेका व्यवसायी छेप्तेन गुरुङले अघिल्लो वर्षको यही वेलाको तुलनामा यस वर्ष पर्यटक बाक्लो देखिएको बताए। विशेष गरी गर्मी समयका महिनामा आन्तरिक तथा बाह्य पर्यटकको चाप हुने गरे पनि यो वर्ष भने चिसोयाममा पनि पर्यटकको उपस्थिति राम्रो रहँदा व्यवसाय पनि चलायमान बनेको उनको भनाइ छ।

‘अघिल्ला वर्षहरूमा चिसोको समयमा यति धेरै पर्यटकहरू आएको जस्तो त लागेको छैन। अहिले भारतीय पर्यटकहरू धेरै आउनुभएको छ। असोज कार्तिकमा त भ्याई नभ्याई हुन्छ। मङ्सिर लागेपछि पर्यटकहरू कम हुँदै जान्छन्’, व्यवसायी गुरुङ भन्छन्, ‘भारतीय पर्यटकहरू प्रायः मुक्तिनाथ दर्शनका लागि आउनुहुन्छ। आएका सबैजना त उपल्लो मुस्ताङ जानु भएको छैन। तल्लो मुस्ताङसम्म पर्यटकको उपस्थितिले राम्रो भएको छ।’

मुस्ताङ पुग्नका लागि म्याग्दी हुँदै जाने सडकको अवस्था राम्रो नभएका कारण पनि विगतमा पर्यटकलाई समस्या हुने गरेको थियो। पोखराबाट पर्वत पुग्ने सडकको अवस्था पनि जोखिमपूर्ण रहेकोमा अहिले भने मध्यपहाडी लोकमार्गको रूपमा विकास गरिएपछि यात्रा सहज बनेको छ। यही कारण पनि पर्यटकहरूको उपस्थिति बढेको हुन सक्ने अन्य व्यवसायीहरू बताउँछन्।

‘सडकको सहज सुविधा भएका कारण पर्यटक आएका छन् तर चिसोमा होटलमा त्यस अनुसारको पूर्वाधार नहुँदा भने समस्या भएको छ। आएपछि चिसोबाट जोगिन भने समस्या हुन्छ’, घाँसाका होटेल व्यवसायी खगेन्द्र गौचनले भने, ‘पर्यटकहरू बढी मात्रामा जोमसोम र मुक्तिनाथ मन्दिरसम्म पुग्ने गरेका छन्। उपल्लो मुस्ताङमा त चिसोले खोलाको पानी जमेर बरफ बनेको हुन्छ। पग्लिएका वेला सवारी चल्ने भए पनि जमेका वेला सवारीसाधन जान सक्दैनन्।’

प्रहरीचौकी घाँसाका अनुसार चिसो मौसममा जोमसोम, मुक्तिनाथमा धारामा पानी समेत जम्छ। सबैजसो होटलमा एसीको सुविधा नहुँदा कतिपय पर्यटक समस्यामा पर्ने गरेका छन्। केही होटलमा बेडमा हिटर जोडिए पनि सबै पर्यटकले त्यो सुविधा पाउँदैनन्। जाडोमा आउने पर्यटकहरूका लागि होटेलमा मौसमका लागि आवश्यक पूर्वाधार  नबन्दा समस्या भएको छ।

माथिल्लो मुस्ताङ पुग्ने सडकमा पर्ने खोलाहरूमा पुल निर्माण हुँदै छन्। पुलहरू बनेपछि खोलाको पानी बरफ बनेको वेला पनि उपल्लो मुस्ताङ जान सहज हुनेछ। होटलहरुले जाडोयामका लागि आउने पर्यटकहरूका लागि आवश्यक पूर्वाधार बनाएमा हिउँ खेल्न, बरफमा रमाउन तथा जमेका तालहरू घुम्नका लागि पर्यटकहरूको सङ्ख्या बढ्ने छ।

गण्डकी प्रदेशमा पोखरापछि सबैभन्दा बढी पर्यटक पुग्ने जिल्ला मुस्ताङ हो। पछिल्लो एक वर्षको करिब ६६ हजार पर्यटक भित्रिएका छन्। सन् २०२२ मा ६५ हजार ४४० जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको तथ्याङ्क छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) इलाका कार्यालय जोमसोमका अनुसार मुस्ताङ भ्रमणमा आएकामध्ये ४६ हजार ७२४ जना पर्यटक सार्क राष्ट्रका छन्। १९  हजार २०६ जना तेस्रो मुलुकका छन्। मुस्ताङ भित्रिएकामध्ये १३ हजार ६२५ जना पर्यटक मनाङ हुँदै थोराङ्ला पास हुँदै पुनः मुस्ताङ फर्किएका छन्। यस्तै ३ हजार २१२ पर्यटक उपल्लो मुस्ताङ घुम्न गएका छन्।

कोरोना महामारीअघि मुस्ताङमा अधिकतम वार्षिक ६० हजारसम्म पर्यटक आएको तथ्यांक छ। सन् २०२१ मा २‚ ३०० पर्यटक भित्रिएकोमा ६०२ जना उपल्लो मुस्ताङ भ्रमणमा गएका थिए। सन् २०२० मा २‚३४७ पर्यटक मुस्ताङ आएका थिए। उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन्।

मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, ढुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीय स्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किन थालेको छ। पर्यटकीय क्षेत्रका बासिन्दा, पर्यटक, होटेल व्यवसायी र मजदुरलाई राहत मिलेको छ। थाहाखबर

Leave a Reply