बागलुङको जैमिनी नगरपालिकाको तीन वडाको सङ्गमस्थलमा रहेको माइकोस्थान नजिकैको तल्लो डाँडामा सानो सत्तलसँगै ढुङ्गाले छाएको मन्दिर छ ।

मन्दिरको भित्र बाइसे चौबिसे राजाको पालामा प्रयोग गरेको हतियार तोपको मुख्य भाग राखिएको छ । भुरे टाकुरे राजाहरुले तत्कालीन अवस्थामा राज्य गरेको स्थानमा रहेको तोप सङ्कटमा परेको छ ।

जिल्लाको सबैभन्दा ठूलो राज्य रहेको तत्कालीन गलकोटे राजाहरुसँग लडाइँपश्चात् राज्य एकीकरण गरिएको भन्ने स्थानमा अहिले मन्दिरसँगै तोप रहे पनि संरक्षण हुन नसकेको स्थानीयको गुनासो रहेको छ ।

कोतमा राखिएको तोप संरक्षण अभावमा केही भाग विसं २०३० मा खेतमा भेटिएपछि स्थानीयले पुनः बोकेर कोतमा लिएर राखेको स्थानीयले बताएका छन् ।

जैमिनी –१० राङ्खानी, वडा–४ सर्कुवा र वडा–७ जैदीको सङ्गमस्थलमा रहेको १८ औँ सताब्दीमा स्थापना गरिएको थन्थाप माइको मन्दिरमुनिको डाँडामा रहेको कोत घर र कोतघरमा रहेको तोप संरक्षणको पर्खाइमा रहेको स्थानीय नरविर थापाले बताए ।

“कोतमा भुरे टाकुरे राजाहरुले प्रयोग गरेको तोप छ भन्दा अचम्म हुन्छ, तर अहिले तोकपको केही कोत मन्दिरभित्र गाडिएको अवस्थामा छ, तोपको केही भाग बाहिरै छ”, उनले भने, “पुरानो सत्तल स्थानीयको पहलमा मर्मतसम्भार गरिएको छ, पुरातत्व विभागले अनुसन्धान गरेपछि तोप संरक्षणमा कुनै चासो दिएन, तोपलाई संरक्षण गरेर प्रदर्शन गर्नसके धार्मिक पर्यटक भित्रन सक्नेछन्, नगरपालिकाले चासो दिनुपर्दछ ।”

मन्दिर क्षेत्र धार्मिक आस्था र विश्वासले मात्रै होइन, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण भए पनि तोप हराउने सम्भावना उत्तिकै छ ।

स्थानीयले तोप हराउने भएकाले गाडेर राखेका हुन् । थन्थाप माई मन्दिरदेखि एक किलोमिटर दूरीमा रहेको ऐतिहासिक कोत भवन संरक्षणको अभावमा भताभुङ्गजस्तै भएको छ ।

तत्कालीन भुरेटाकुरे राजाले आफ्नो सुरक्षाको लागि तयार गरेको गढी क्षेत्रको संरक्षण नहुँदा भग्नावशेषको रुपमा परिणत भएको हो ।

तत्कालीन राजाले आफ्नो दरबार, हतियार भण्डारण, विश्रमस्थल, रानीको सयन कक्ष तथा पूजास्थल, चौपारी, सेनाले पहरा दिने संरचना कतै पूर्णरुपले भत्किएको तथा कतै आधा पुरिँदा पहिचान गर्न नसक्ने अवस्थामा पुगेको स्थानीय टिकाराम आचार्यले जानकारी दिए । उहाँले कोतघर वरपर विभिन्न आकारका पर्खाल, सिँढी, ओखाललगायतका संरचना झाडीले पुरेर रुख उम्रेको उनको भनाइ छ ।

“यस क्षेत्रलाई संरक्षण गर्ने, उत्खनन गर्ने र केही जानकारीसहितको सूचना बोर्ड स्थापना गर्नेलगायतको कार्यका लागि नगरपालिकाले तगारुकता देखाउन सके पर्यटक आउन सक्ने छन्”, उनले भने, “कुनै सानो कुराको प्रचारप्रसार भएको देखिन्छ, यहाँ बाइसे चौबिसे राजाहरुले पड्काएको तोप जीवित छ, त्यही तोप कहिले हराउने हो पत्तो छैन, यहाँका महत्वपूर्ण सामाग्रीहरु हराई सकेको अनुमान छ, राज्यले संरक्षणमा लगानी गरे कोतघरलाई पुरानैस्वरुपमा जीर्णोद्धार गर्न सकिन्छ ।”

त्यो समयमा सत्रु पक्षबाट बच्नको लागि सेनाले प्रयोग गरेको एक थान तोपको अवशेषमात्र कोत मन्दिरमा सुरक्षित गरेर राखिएको छ । तोपको नाल र पछाडिको भागलाई मन्दिर निर्माण गरी सुरक्षा गरेको कोत मन्दिर व्यवस्थापन समितिका सचिव प्रेम थापाले जानकारी दिए ।

थन्थापमाईको क्षेत्रको डोका, देउराली, गुरुङकोट क्षेत्रमा तत्कालिन सेनाले निर्माण गरेका बङ्कर केही पुरिएको तथा केही आधा पुरिएको अवस्थामा छन् । सेनाले ओतको लागि निर्माण गरेका सत्तलको भङ्गावशेष देख्न सकिने सचिव थापाको भनाइ छ ।

ऐतिहासिक गढी क्षेत्रको संरक्षणमा राज्यले चासो नदिँदा प्राचीनकालका मौलिक सामग्री मासिँदै गएको स्थानीयको गुनासो छ ।

– रासस

Leave a Reply