दुई दशकपछि म्याग्दीको सदरमुकाम बेनीबजारमा ऐतिहासिक महत्व बोकेको हनुमान नाच प्रदर्शन गरिने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको अवसरमा संस्कृतिको धरोहर हनुमान नाच प्रर्दशन गरिने भएको हो । नेपाल भाषा मंकाःखलले हनुमान नाच प्रर्दशनका लागि नियमित अभ्यास गराइरहेको अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।
कला, संस्कृति र भेषभूषाको जगेर्ना साथै म्याग्दीका धार्मिक, ऐतिहासिक पहिचानलाई जोगाउन निरन्तर सक्रिय मंकाःखलले एउटा छुट्टै विशेषता बोकेको आकर्षक एवम् मनोरम नृत्यलाई महोत्सवको आर्कषकको रुपमा प्रस्तुत गर्ने गरी कलाकारहरुलाई तालिम दिइरहेको छ ।
हनुमान नाच सम्बन्धि विभिन्न लेखरचनामार्फत प्रचारप्रसारमा सक्रिय अजयमिलन श्रेष्ठका अनुसार नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहको भादगाउँ विजय पछि त्रसित र प्रताडित नेवारहरु भागेर आउँदा यस संस्कृतिलाई बागलुङमा ल्याएका र त्यहाँबाट वि.सं. २०२० को दशकमा यस बेनीबजारमा पनि भित्रीएको पाईन्छ । बेनीमा यसअगाडी बि.स २०५७ साल र सन् २००७ मा म्याग्दी जेसीजको ख सम्मेलनमा भाँकी मात्रै प्रर्दशन गरिएको थियो ।
हनुमान नाचमा ११ जोडी पुरुषहरु विशेष श्रृंगारका साथ हनुमानको स्वरुपमा प्रस्तुत हुन्छन् । भेषभूषामा उनीहरुले रातो हाप बाहुला भएको कमिज, रातो जाङ्गे र सेतो जामा लगाएका हुन्छन् हरेकका दुवै हातमा दुई फिट जति लामो लट्ठी (डण्डी) हुन्छ । नाङ्गो खुट्टामा चापहरु हुन्छन् । कपडा (रिबन) का आकर्षक र रङ्गिन मालाले सजिएका हुन्छन् । मुख्य विशेषताका रुपमा करिब पाँच फिट लामो सिमलीको लठ्ठीलाई घुमाएर बनाइएको र कपडाका झुम्राहरुले आकर्षक तुल्याइएको पुच्छरलाई पछाडि ठड्याएका हुन्छन् ।
नाचको हरेक तालको आरम्भमा ज्या माक्को जोडीबाट अभिनय शुरु गरिन्छ र तदनुरुप अन्य हनुमानहरु पनि नृत्यमा सरिक हुन्छन् । यस नाच सलामीको तालबाट आरम्भ हुन्छ र यस तालमा सबै हनुमान त्यसपछि अन्य ताल (६ ताल, ८ ताल, १२ ताल, २२ ताल,२४ ताल) मा हनुमानहरु हातमा भएका दण्डीहरु ठोक्काउदै कहिले आम्ने साम्ने गर्दै र घुम्दै त कहिले गोलाकार संगठनमा नाच्दछन् । नृत्य तालको समाप्ति पश्चात ५ ताल “तलिङ छ्यास“ को तालमा हिडाउँदै एक स्थानबाट अर्को स्थानमा लगिन्छ ।