अजयमिलन श्रेष्ठ\म्याग्दी जिल्ला लोकसंस्कृतिको दृष्टिले धनी छ । यसको सदरमुकाम बेनीबजारका आदिवासी नेवारहरुको संस्कृतिका रुपमा रहेका विविध नृत्यहरुले यस जिल्लाको लोकसंस्कृतिको गरिमा र इतिहासलाई अझ उँचो राखेको छ । गठेमंगल (घण्टाकर्ण) देखि तीजपर्वसम्म वर्षेनाच अन्तर्गत बर्षेनी गरिने लाखेनाच, रोपाइ नाच, नागानगिनी नाच, जोगी नाच, घोडे नाच, ठेट्टरनाच आदिका आ–आफ्नै महत्व र विशेषता छन् ।
यी नाचहरु सदरमुकाम बेनीबजार र जिल्ला के साझा संस्कृतिका रुपमा विकसित भै सकेका खन् । यी बाहेकका शिकारी नाच लगायत केही अत्यन्तै र माइला नृत्यहरु लोपोन्मुख अवस्थामा पुगेका छन भने भोटे नाच लगायतकालाई विगत केही बर्षदेखि पुनः जगाउने प्रयास गरिएको पाइन्छ । यिनै नाचहरुको सन्दर्भलाई कोट्याउँदा धेरै वर्षको अन्तरालमा प्रदर्शन गरिने “हनुमान नाच“ चाहि एउटा छुट्टै विशेषता बोकेको आकर्षक एवम् मनोरम नृत्य हो बेनी बजारको धरतीमा स्थापित भैसकेको यस नाचका विषयमा यहाँ छोटो चर्चा गरिएको छ ।
रामायणका नायक श्री रामका परमभक्त हनुमानको स्मरणमा यो नाचको नामाकरण गरिएको छ । रावणको सीताहरण पश्चात् उनलाई फर्काउने प्रयासमा श्री रामलाई हनुमानले पु¥याएको सकारात्मक सहयोग त्याग र समर्पण एवम् हनुमानले देखाएका चमत्कारिक र शक्तिशाली कार्यका आधारमा हामी उनलाई “महाबलि“ का रुपमा सम्मान गर्ने गर्दछौ र “हनुमान नाच“ पनि उनको “स्मृति“ र “सम्मान“ मा नाचिने गरिएको हनुपर्छ, त्यसैले यस नाचमा उनै हनुमानको पूजा आराधना पनि गरिन्छ ।
यस नाचको उत्पत्ति र विकासका सम्वन्धमा यथेष्ट लिखित र प्रामाणिक स्रोतहरु पाइएका छैनन तापनि प्राप्त स्रोतका आधारमा यसको उद्गम भक्तपुरमा भएको बुझिन्छ । नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहको भादगाउँ विजय पछि त्रसित र प्रताडित नेवारहरु भागेर आउँदा यस संस्कृतिलाई बागलुङमा ल्याएका र त्यहाँबाट वि.सं. २०२० को दशकमा यस बेनीबजारमा पनि भित्रीएको पाईन्छ । छोटे समयमा पनि यस नाच बेनी बजारमा स्थापित भै सकेको छ ।
हनुमान नाचमा ११ जोडी पुरुषहरु विशेष श्रृंगारका साथ हनुमानको स्वरुपमा प्रस्तुत हुन्छन् । भेषभूषामा उनीहरुले रातो हाप बाहुला भएको कमिज, रातो जाङ्गे र सेतो जामा लगाएका हुन्छन् हरेकका दुवै हातमा दुई फिट जति लामो लट्ठी (डण्डी) हुन्छ । नाङ्गो खुट्टामा चापहरु हुन्छन् । कपडा (रिबन) का आकर्षक र रङ्गिन मालाले सजिएका हुन्छन् । मुख्य विशेषताका रुपमा करिब पाँच फिट लामो सिमलीको लठ्ठीलाई घुमाएर बनाइएको र कपडाका झुम्राहरुले आकर्षक तुल्याइएको पुच्छरलाई पछाडि ठड्याएका हुन्छन् ।
वाद्यवादकहरुले बजाएको मृदङ्गा, झ्याली लगायतका बाजाहरुको निश्चित तालहरुमा उफ्रदै घुम्दै र हातका डण्डीहरु एक आपसमा जुधाउदै नाच्दा यस नृत्य साँच्चै आकर्षक देखिन्छ । लठ्ठीहरू ठोक्काउदा निस्कने आवाजले समेत नृत्यको वातावरण थप संगीतमय बनेको आभास मिल्दछ हरेक तालको अन्त्यमा “सह” शब्दका साथ लामोतर्फ पंक्तिवद्ध आमने सामने भएका सबै जोडी हनुमानहरु दुवै लट्ठी भुँइमा टेकी घोप्टो परेर विश्राम अवस्थामा आउँछन भने तालको आरम्भमा घोप्टो अवस्थाका ती हनुमानहरुले पुच्छर हल्लाउँदाको दृश्य उति नै रमाइलो र मनोरम देखिन्छ ।
यस नाचको व्यवस्थापनका लागि धेरै सहयोगीहरुको संलग्नता र सहभागिता चाहिन्छ । नाच संचालनका लागि प्रधान कजी (संयोजक), उप–प्रधानकजी (सह–संयोजक) र थुप्रै कजी (सहायक सदस्य) हरु हुन्छन् । पूजाका लागि पुजारी र वाद्यवादन टोलीहरु हुन्छन् । नाचकै क्रममा पनि थुप्रै स्वयमसेवकहरु परिचालन गरिन्छ । पूजाको आरम्भ संगै वाद्यवादकहरुले बाजा मार्फत देवहालय (शक्ति प्रसन्न) को ताल बजाउँछन् यस तालमा झुम्दा झुम्दै कतिपय हनुमानहरु काँप्न थाल्छन् । कति त काँप्दा काँप्दै उफ्रदै आफ्नो स्थान समेत छाड्छन ।
यसरी वीर आएको बेला उफ्रदै दायाँबायाँ गर्ने क्रममा आफ्नो सीमा समेत नाघेर जान खोज्दा छेउछेउमा भएका मुख्य जोडीले थाम्नुपर्ने हुन्छ उनीहरुलाई रोक्नका लागि छेउमा वीर नआउने व्यक्तिलाई रोजेर प्रमुख जिम्मेवारी दिइएको हुन्छ, ती जोडीलाई ज्या माक्को (नेवारी भाषामा मुली बादँर) भनिन्छ । कहिले काही त दर्शकहरु मध्येबाट पनि काँप्ने गर्दछन् ।
यसरी काँप्ने हनुमान र दर्शकलाई थाम्न स्वयंसेवक र कजीहरु खट्छन् र पुजारी वा कजीले धूप सुधारपछि विस्तारै का‘प्न छोड्छन । कहिलेकाही अन्य तालहरुमा पनि ताल बिग्रदा केहीलाई वीर आउने गर्दछ र यस्तो परिस्थितिमा पनि धूप सुधाएर साम्य पारिन्छ ।
नाचको हरेक तालको आरम्भमा ज्या माक्को जोडीबाट अभिनय शुरु गरिन्छ र तदनुरुप अन्य हनुमानहरु पनि नृत्यमा सरिक हुन्छन् । यस नाच सलामीको तालबाट आरम्भ हुन्छ र यस तालमा सबै हनुमान त्यसपछि अन्य ताल (६ ताल, ८ ताल, १२ ताल, २२ ताल,२४ ताल) मा हनुमानहरु हातमा भएका दण्डीहरु ठोक्काउदै कहिले आम्ने साम्ने गर्दै र घुम्दै त कहिले गोलाकार संगठनमा नाच्दछन् । नृत्य तालको समाप्ति पश्चात ५ ताल “तलिङ छ्यास“ को तालमा हिडाउँदै एक स्थानबाट अर्को स्थानमा लगिन्छ ।
यस नाचमा भजन गाउने परम्परा रहेको भएतापनि अत्यन्त कठिन लाग्ने ती भजनहरु विना नै बाद्यबादकका तालमा मात्र नचाइने गरको पाइन्छ । यस नाचका कलाकार, वाद्यवादक र सहयोगीका लागि धेरैजना खट्नु पर्ने र अत्यन्तै खर्चिलो समेत भएकोले केही वर्षको अन्तरालमा मात्र निकालिने गरिन्छ । खासगरी बिजोर वर्षमा निकाल्नु पर्ने मान्यता अनुरुप तीन, पाँच वा सातबर्षमा निकालिने परम्परा रहेता पनि झन्झटिलो र खर्चिलो भएके कारण यस नाचका लागि अझ लामो अवधि कुर्नुपर्ने पनि हुन्छ ।
बेनी बजारमा विगतमा यस नाचलाई म्याग्दी पुस्तकालयको सहयोगार्थ निकाली पुस्तकालय व्यवस्थापनमा अर्थ संकलन गरिएको थियो । त्यसैगरी बेनी माई भगवती मन्दिर पुनः निर्माणार्थ प्रदर्शन गरी उल्लेख्य आर्थिक सहयोग जुटाइएको थियो । आगामी दिनहरुमा पनि यस्तै सामाजिक कार्यहरुका लागि विविध संघ÷संस्थाबाट हनुमान नाँच प्रदर्शन गरिने सम्भावनालाई नकार्न सकिदैन ।
लामो समयको अन्तरालमा प्रस्तुत गरिने भएकैले पनि पहिलो पटक हनुमान नाच देख्नेहरुको ठूलै संख्या र भीड हुने गर्दछ भने एकपटक देखे÷हेरेकाहरुलाई समेत मन्त्रमुग्ध पार्ने यस नृत्य लगायत अन्य सबैखाले लोकनृत्यहरुको संरक्षण र सम्बर्द्धन गर्नु पर्ने देखिन्छ । समायानुकुल अत्याधुनिक मनोरञ्जनका साधनहरुले प्राचीन लोकसंस्कृतिको जगेर्ना एक चुनौतिको विषय बनेका बेला यस्ता संस्कृतिलाई परिष्कृत र परिमार्जित गर्दै निरन्तरता दिने कार्य पनि चुनौतिपूर्ण रहेको छ ।
बेनीबजारको संस्कृतिका रुपमा स्थापित भैसकेको यस हनुमान नाचलाई जीवन्त राख्न एक दशकको समयावधि भित्र कम्तिमा १ पटक प्रदर्शन गरेर यस संस्कृतिलाई नयाँ पिढीमा हस्तान्तरण गरिदै जानुपर्छ । यसका लागि वाद्यवादन र नृत्यमा नयाँ पुस्तालाई प्रशिक्षण दिइनु समेत आवश्यक छ । “हाम्रो संस्कृति, हाम्रो सम्पदाहरुलाई जोगाउनु हामी सबैको दायित्व पनि हो ।“