बेनीबजारको निगरानी बढाउन सीसीटिभी क्यामेरा

0
10

म्याग्दीको सदरमुकाम बेनी बजारलाई सीसीटिभीमार्फत निगरानी सुरु गरिएको छ । सुरक्षा व्यवस्थामा सहयोग पुग्ने उद्देश्यले बेनी नगरपालिकाले मर्मत तथा थप गरी २२ वटा सीसीटिभी क्यामेरा जडान गरिएको हो ।

बेनी नगरपालिकाको आर्थिक तथा बिटेक कम्यूटरको प्राविधिक सहयोगमा बेनीबजारको प्रवेशद्धार, विभिन्न चोक तथा गल्लीमा २२ क्यामेरा जडान गरिएको हो ।विगतमा उद्योग वाणिज्य संघको पहलमा जडान गरिएका सीसीटिभीले काम नगर्दा प्रयोगबिहीन बनेपछि नगरपालिकाले नियमित सञ्चालन गर्ने गरी बजेट विनियोजन गरेको मेयर सुरत केसीले बताए ।

‘बिग्रिएकालाई तत्काल मर्मत गर्ने बार्षिक सम्झौता छ,‘बजारभित्र नै धेरै जडान गरिएको छ’ मेयर केसीले भने । विभिन्न सडक, चोक, बजार क्षेत्रमा सीसीटिभी क्यामेरा जडान गरी निगरानी गर्ने र सुरक्षित बनाउने योजना अनुरुप थप क्यामराको जडान गर्ने योजना रहेको प्रमुख केसीको भनाई छ ।

बिरेन्द्रचोक, नगरपालिकाको प्रवेशद्धार, हुलाकचोक, न्यूरोड, संगमचोक, बालमन्दिर, कालिपुल बसपार्क लगायत छिमेकी जिल्लाबाट बेनीबजार प्रवेश गर्ने सबै नाकालाई लक्षित गरिएको छ । जडान गरिएको सीसीटिभीमध्ये विद्युतको पोल स्थानान्तरको क्रममा ४ वटा मर्मतको क्रममा रहेको बिटेक हाउसका सञ्चालक खगेन्द्र खत्रीले बताए । उनका अनुसार बिग्रिएका क्यामेरालाई १ घण्टाभित्र मर्मत गर्ने गरी नगरपालिकासँग सम्झौता गरिएको छ ।

जडान गरिएको सीसीटिभीको फुटेज प्रहरी कार्यालयकै मनिटरमा देखिने व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल कक्षबाट निगरानी गरिने क्यामेराबाट सजिलै पहिचान हुने भएकाले अनुसन्धानमा समेत सहज भएको प्रहरीले जनाएको छ । प्रहरीले सुरक्षाको दृष्टिकोणले आवश्यक पर्ने केही स्थानका बारेमा नगरपालिकालाई समेत सुझाव दिएकाले आगामी बर्ष थप्ने योजना रहेको छ ।