मिलन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनी म्याग्दीको सदरमुकाम बेनीमा प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले तिलकुमारी रानाको अध्यक्षतामा सहकारीको ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा ज्ञानुकुमारी केसी, सचिवमा कमला शर्मा, कोषाध्यक्षमा सङ्गीता अधिकारी र सहसचिवमा हिरा जिसी बानियाँ चयन हुनुभएको छ । यसैगरी समितिको सदस्यहरुमा चन्द्रकला बानियाँ, बालकुमारी पुन, राजकुमारी विश्वकर्मा, सरस्वती नेपाली, छवि पूर्जा र मनिता रायमाझी चयन भएको मिलन महिला बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।

त्यस्तै सहकारीको लेखा समिति संयोजकमा ज्योती लामिछाने, सदस्यमा भगवती पौडेल र धनदेवी बोगटी चयन हुनुएको छ। साधारण सभालाई सम्बोधन गर्दै मालिका गाउँपालिकाका निवर्तमान उपाध्यक्ष खरमाया बिटालुले सहकारीले आर्थिक कारोबार सँगसँगै महिलाहरुको क्षमता अभिवृद्धि गर्नेतर्फ पनि जोड दिनुपर्ने बताउनुभयो । उहाँले सहकारी संघसंस्थाहरुले बचत र ऋणको कारोबार मात्र गर्ने नभई उत्पादन तथा व्यवसायमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मिलन म्याग्दीका निवर्तमान अध्यक्ष शिव बानियाँ, संस्थापक सदस्य गोरखबहादुर सार्की र सहकारीका शेयर सदस्य मनिता रायमाझीले मन्तव्य व्यक्त गर्नुभएको थियो । यसअघि साधारणसभाको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष तिलकुमारी रानाले प्रस्तावित कार्यक्रम र सचिव कमला शर्माले प्रगति तथा निवर्तमान कोषाध्यक्ष भगवती पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष रानाको अध्यक्षता, सचिव शर्माको सञ्चालन र ज्ञानु केसीको स्वागतमा सम्पन्न भएको थियो ।

Leave a Reply