म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा आजदेखि सातौं म्याग्दी महोत्सवको सुरु भएको छ । बेनीको खुलामञ्चमा पुस २८ गतेदेखि माघ ७ गतेसम्म हुने सातौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेलाको अवसरमा बेनीबजारमा प्रभातफेरी कार्यक्रम सुरु भएको हो ।
महोत्सवमा विभिन्न संघसंस्थाको जनजातिका झाँकी र भेषभूषा सहित बेनीबजार परिक्रममा गरिरएको हो । महोत्सवलाई लक्षित गरी बेनीबजारलाई बेहूली झै धपक्क सिंगारिएको छ । महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव आयोजक समितिका मूल संयोजक बेलबहादुर कटुवालले बताउनुभयो ।
१० दिनसम्म म्याग्दीको बेनीमा परम्परागत रुपमा लाग्दै आइरहेको माघेसङ्क्रान्ति मेलालाई जगाउन माघी पर्वको अवसर पारेर महोत्सव आयोजना गरिएको मुल आयोजक म्याग्दी उवासंघले जनाएको छ । महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कुल २ सय ५८ वटा स्टलहरु रहने छन्भने फोटो र वृत्तचित्र प्रदर्शनी गरिनेछ ।
म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दी, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं मुख्य आयोजक रहेको सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको आयोजकमा जिल्ला समन्वय समिति म्याग्दी, बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिका आयोजक रहेका छन्भने नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको छ ।
म्याग्दीको बेनीमा २०५७ सालदेखि माघेसङ्क्रान्ति मेला लगाउन सुरु गरिएकोमा २०६० सालबाट म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा म्याग्दी महोत्सव लगाउन सुरु गरिएको थियो । हरेक तीन–तीन वर्षको अन्तरालमा महोत्सव आयोजना गर्ने गरिए पनि सातौं महोत्सव भने विश्वभर फैलिएको कोरोना भाइरस र लकडाउनका कारण यसवर्ष आयोजना गरिएको हो ।

Leave a Reply