पर्वतको जलजला गाउँपालिकाको १३ औ गाउँसभा कार्यसूचिमै प्रवेश नगरी स्थगित भएको छ । लामाखेतमा बोलाइएको गाउँसभाका बहुमत सदस्य उपस्थित नभएपछि स्थगित गरिएको हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा भएका गतिबिधिको समिक्षा, खर्च अनुमोदन, बजेटको शिर्षकान्तरका विषयमा छलफल गर्न गाउँसभा बोलाइएको थियो ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले गणपुरक संख्या नपुगेपछि २०७९ माघ २ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो । “आज उपस्थित नभएका गाउँसभा सदस्यहरुसँग छलफल गर्छौ,” उहाँले भन्नुभयो “गाउँसभा सञ्चालन कार्यबिधि अनुसार माघ २ गते बैठक बोलाएका छौ । सो बैठकमा पनि आउनु भएन भने ४ गते हुने बैठकमा जति उपस्थित हुुनुहुन्छ त्यतीको आधारमा प्रस्ताव पारित गर्छौ ।”

नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु सभामा उपस्थित नभएका हुन् । नेपाली काँग्रेस र माओवादीबाट निर्वाचित १९ जना जनप्रतिनिधिहरु सहभागि भएका थिए । सभामा उपस्थित नभएका कार्यपालिका सदस्य भिमसेन बराइलीले अध्यक्षले कार्यपालिकाका विषयगत समितिलाई हस्तक्षेप गरेको, एकलौटी ढंगले चलेको र विश्वास घात गरेकाले बहुमत सदस्यहरुले बहिस्कार गरेको बताउनुभयो ।

कार्यबिधि अनुसार गाउँपालिकाको बैठक र सभा सञ्चालन नभएको तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यशैली प्रतिपनि आफूहरुको असहमति रहेको कार्यपालिका सदस्य बराइलीले बताउनुभयो ।अध्यक्ष आचार्यले भने राजनीतिक पूर्वाग्रह साध्न बहुमतको दम्ब देखाउने, गाउँपालिकाको गतिबिधिलाई प्रभावित बनाउने प्रयास भएकाले कार्यबिधि अनुसार अघि बढ्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको बताउनुभो ।उपाध्यक्ष दिपक आचार्य (आकाश)ले सभामा नआएका कार्यपालिका र गाउँसभा सदस्यहरुसँग छलफल भैरहेको बताउनुभयो ।

Leave a Reply