म कुनै साहित्य सिर्जना गरिरहेकी छैन नेपाललाई सुन्दर र नेपालीलाई बहादुर भन्नलाई। म मैले भोगेको र देखेको नेपालका बारे लेख्दैछु जुन बुझ्नसक्ने प्रत्येक नेपालीलाई थाहा छ। आफ्ना समस्या वास्तवमा हामी आफूलाई बाहेक अरूलाई थाहा हुँदैन।
अरूले त अड्कल मात्र लगाउँछन्। कसैले सुन्दर भन्दैमा हामी यत्ति सजिलै कसरी मान्न सक्छौ कि हामी सुन्दर छौ। कसैले राम्रो भनिदिए हामी आफूलाई राम्रो ठान्छौ नराम्रो भनिदिए नराम्रो नै ठान्छौ हामी आफैंलाई थाहा छैन कि हामी कस्ता छौ।
थाहा छैन ,जसले जे भनिदियो त्यही मान्ने हामी कहिले देखि भयौं र कहिले सम्म हुन्छौं । नेपाल सुन्दर छ , नेपाली सुन्दर छन् तर नेपालका नेता भ्रष्ट छन् त्यसैले देशको विकास हुन नसकेको हो भन्ने भनाइ प्राय हामी सबैले सुनी नै रहेका हुन्छौ।
जसलाई हामी मान्छौ पनि किनकि हामीलाई सुन्दर भनिएको छ। हामीलाई प्रश्न गर्नु छैन हामी कसरी सुन्दर भयौं । हामीलाई सुन्दर शब्दले यति धेरै लालायित बनाउँछ कि हामीलाई अर्थ बुझ्ने झन्झट गर्नु छैन। नेता हामी बिचबाट नै जन्मिएको व्यक्ति हो। हामी सुन्दर व्यक्तिहरू माझबाट असुन्दर व्यक्ति , देश बिगार्ने व्यक्ति कसरी जन्मियो। राम्रो व्यक्ति माझबाट झन राम्रो व्यक्ति जन्मिनु पर्ने होइन र। किन राम्रा व्यक्तिहरूले नराम्रा व्यक्ति छान्यौ।
व्यक्तिको व्यवहार र विचारमा उ हुर्केको परिवार , समाज र देश स्पष्ट झल्कन्छ। उसले पाएको संस्कार अनुसार उसले आफूलाई ढाल्छ। व्यक्ति आज खराब छ भने पक्कै उ खराब मान्छे बिच खराब वातावरणमा हुर्किएको हुनुपर्छ ।
नेता खराब हुनु भनेको प्रत्येक्ष अप्रत्यक्ष रूपमा जनता खराब हुनु हो। हामी यो स्विकार्दै नौ किनकि हामीलाई कसैले सुन्दर भनिदिएको छ। अहिले हाम्रो देश नेपालको स्थिती हेर्दा,भर्खर जन्मेको बच्चा देखि काम गर्न नसक्ने बृद्ध प्रत्येक नेपाली नागरिकको टाउकोमा ६७,००० ऋण छ।
बाउले लगाएको ऋणलाई मैले लिएको होइन भनेर छोराछोरी तर्कन सक्दैनन्। बाउ आफ्नो भएपछि उसले लगाएको ऋण पनि आफ्नो हुन्छ। साथै त्यसलाई तिर्नुपर्ने जिम्मेवारी हुन्छ। ऋणको भारले थिचिएर हामीले टाउको उठाउन सकिरहेका छैनौं। नेपालमा केही हुन्न कमाउन र प्रगति गर्न विदेश नै जानुपर्छ भन्ने मानसिकता दिनप्रतिदिन घट्नुको साटो बढि नै रहेको छ। पढाइमा राम्रो भएकाको पहिलो रोजाई युरोपका देशहरू हुन्छन्। केही सरकारि जागिरमा भिड्छन् । बाँच्नु त पर्यो बाँच्नलाई अहिलेको समयमा अक्सिजन सराबर कमाई चाहिन्छ त्यसैले हानिन्छन् केही खाडि मुलुक तिर। कृषि प्रदान देशमा कृषि कर्म गर्ने युवा छैनन् बराबर छन्। मसँग ११/१२ कक्षा सँगै पढेका साथीमा ५०/६० % पढ्ने र कमाउने नाममा बिदेश गइसके । बाँकी रहेका मध्ये केही अझै प्रयास गर्दैछन्।
नेपालमा नै बस्छु यहि गर्छु भन्ने त मुस्किलले २०/२५ % मात्र हौला। देशको स्थिति के छ डाटा हेर्यौ भने सजिलै थाहा हुन्। सरकारि जागिरमा भएको प्रतिस्पर्धा हेरेर नै थाहा हुन्छ। मेरो देशको स्थिति के छ? योग्यता भएका काम गर्न इच्छुक नागरिक कति छन्। १ पोस्टका लागि हजारौंको सङ्ख्यामा आवेदन पर्छन्।
एउटा मात्र छानिन्छ बाँकी अघोषित अयोग्य ठहरिन्छन्। हाम्रो देश यो स्थानमा पुग्नमा सबैभन्दा दोषी हाम्रो शिक्षा पद्धति र संस्कार छ। उधमि बन्ने भन्दा पनि हामीलाई जागिर खाने शिक्षा दिइन्छ। पाठ्यक्रममा चाहिने कुरा भन्दा नचाहिने अव्यावहारिक कुरा बढि समाबेश गरिएको छ।
हाम्रो योग्यता नम्बर निर्धारण गर्ने भएकाले हामीलाई शिक्षकहरूबाट नयाँ कुरा सिकाउने भन्दा पनि नम्बर ल्याउने तरिकाले पढाइन्छ। हामी विद्यार्थीलाई पनि परिक्षामा नआउने कुरा पढ्न नपरे हुन्थ्यो जस्तो लाग्छ। परिक्षामा आउँदैन भने पाठ्यक्रममा समाबेश भएका कतिपय बिषयबस्तु नपढी छोडिन्छ।
अन्तिम परीक्षा दिएर पास भएसँगै सबै आएको मानिन्छ तर हाम्रो यसरी पढ्ने परिपाटी छ कि अघिल्लो बर्ष बढेको अधिकांश विद्यार्थीलाई अहिले थाहा हुन्न अघिल्लो बर्ष के पढियो भनेर। मेरो कुरा गर्दा मलाई १७/१८ बर्ष देखि नै आफ्नो लागि कमाई आफै गर्ने चाहना थियो ।
अहिले ४/६ बर्ष पछाडि पनि म त्यही स्थानमा छु जहाँ ४/६ बर्ष पहिले थिए। मेरो हातमा शैक्षिक योग्यता बाहेक केही छैन। म जस्ता काम गर्न इच्छुक तर शैक्षिक योग्यता बाहेक अन्य सीप नभएका अल्मलीएका युवा लाखौंको सङ्ख्यामा छन्। मान्छेलाई निहुँरिएर हिड्न , हजुर हजुर भन्न दुख र समस्याले बाध्य गराउँछ। कि बलियो बन्न सक्नुपर्छ नभए कमजोर भएपछि बाँच्नका लागि हजुर हजुर भन्नु नै पर्छ। हामीले बाँच्नका लागि गरेको हजुर हजुर कसैलाई सुन्दर लाग्छ भने यसमा खराबी त केही छैन तर हामीलाई थाहा हुनपर्छ आफ्नो वास्तविकता।
हाम्रो देश प्राकृतिक रूपमा त सुन्दर छ यसलाई आर्थिकरूपमा सुन्दर बनाउने आत्मनिर्भर बनाउने जिम्मा हामी प्रत्येक नेपालीको हो। यसका लागि सुरूमा आफ्नो वास्तविकता स्विकार गर्नुपर्छ त्यसपछि विस्तारै आफ्नो सोच परिवर्तन गर्नुपर्छ नेपालमा केही हुन्न भन्ने सोचलाई नेपालमा नै केही गर्छु भन्नेमा बदल्नुपर्छ। भनिन्छ सुरूवात गर्न कहिल्यै पनि ढिलो हुँदैन त्यसैल अहिले सुरूवात गरियो भने अबको २०/२५ बर्षमा हामीले हाम्रो मुहार फेर्न सक्छौ।
ऋण र अनुदानमा पालिएको देशबाट ऋण र अनुदान दिने देश बनाएर वास्तविक सुन्दर देशको परिचय दिने जिम्मा हाम्रो हो र हामी सक्छौं । समय लाग्ला तर आआफ्नो ठाउँमा राम्रो काम गर्न सुरूवात गरियो सम्भव छ त्यो पनि हाम्रै पालामा। हामीलाई कसैले सुन्दर भनिरहनु पर्दैन हामी त्यसै सुन्दर हुनेछौं । कान्ति।