छिमेकी देश भारतको अयोध्याधाममा भगवान् राम र सीताको मूर्ति बनाउनका लागि लैजाने कालीगण्डकी नदीको शिलाको पूजाअर्चना भएको छ । म्याग्दीको बेनी नगरपालिका ६ गलेश्वरको कालीगण्डकी नदी किनारमा आज (आइतवार) धार्मिक विधि र परम्पराअनुसार शिलाको पूजापाठ गरिएको हो ।

हिन्दू धर्मावलम्बीको प्रसिद्ध धार्मिकस्थल मानिने अयोध्याधाम लैजानका लागि कालीगण्डकीको नदी किनारमा पहिचान गरिएका शिलाको पूजा गरिएको बेनी नगरपालिकाले जनाएको छ । हिमालपारिको जिल्ला मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भइ मुक्तिनाथ मन्दिरका एक सय आठ वटा धाराको जल मिसिएर म्याग्दीको धार्मिकस्थल गलेश्वर हुँदै बग्ने पवित्र कालीगण्डकी नदीको शिलालाई भारतको अयोध्यामा लगेर भगवान् राम र सीताको मूर्ति बनाउन लागिएको हो ।

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री विमलेन्द्र निधि, गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, म्याग्दीको बेनी नगरपालिकाका मेयर सुरत केसी, पण्डित भीमनाथ पराजुली, अयोध्याधामको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकज र जानकी मन्दिरका महन्त लगायतले कालीगण्डकी नदी किनारबाट उत्खनन तथा पहिचान गरिएका शिलाको पूजा गर्नुभएको थियो । यसअघि उच्चस्तरीय एक टोलीले अवलोकन गरेपछि आज माघे सङ्क्रान्ति पर्वको अवसरमा शिलाको पूजाअर्चना गरिएको छ ।

अयोध्याधाममा निर्माणाधीन राम मन्दिरको परिसरमा कालीगण्डकीको शिलालाई मुख्य मूर्ति कुँदेर राख्नका लागि लैजान लागिएको बेनी नगरपालिकाका मेयर केसीले बताउनुभयो । भू–गर्वविद्, शिलाविद्, प्राविधिक तथा विज्ञसहितको टोलीले दुई हप्ताको समय लगाएर कालीगण्डकी नदी किनारमा दुई वटा शिलाको पहिचान गरेको थियो । कालीगण्डकीका शिलालाई अयोध्या लैजान उपहारस्वरूप दिइएको छ । नदी किनारको छेउमा शिला पठाइएको सङ्केतका रूपमा गण्डकी प्रदेश सरकारको सहयोगमा स्तम्भ बनाइने मेयर केसीले जानकारी दिनुभयो ।

भारतको अयोध्याधाममा कालीगण्डकीको शिला पठाउन समन्वय गर्नुभएका कांग्रेस नेता निधिले गलेश्वरको कालीगण्डकीबाट शिला लैजाँदा नेपाल र भारतको बीचमा धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारतले रामको मुख्य मूर्ति बनाउन कालीगण्डकी नदीको शिला लैजाने चाहना गरेपछि आफूले समन्वय गरेर नेपालको तर्फबाट अयोध्यामा कालीगण्डकी नदीको शिला पठाउने प्रक्रिया अघि बढाएको बताउनुभयो ।

कालीगण्डकी नदी किनारबाट पहिचान गरी उत्खनन गरिएका ‘देवशिला’ को नामकरण गरिएका दुई वटा शिला लामो समयसम्म टिक्ने अनुमान गरिएको छ । गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका उपसचिव भोजराज न्यौपानेको नेतृत्वमा राममन्दिर निर्माण समितिका सचिव पंकज, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराका उप–प्राध्यापक नवराज न्यौपानेसहितको टोलीले कालीगण्डकी नदी किनारमा शिलाको पहिचान गरी नाप–जाँच गरेको थियो ।

आज धार्मिक विधिअनुसार पुजाअर्चना गरिएको शिलालाई एक हप्तापछि जनकपुर लगिनेछ । गण्डकी प्रदेश सरकारले जनकपुरमा लगेर मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने त्यस शिलालाई बेनी नगरपालिकाले भजनकिर्तन र बाजागाजासहित बिदाइ गर्ने जनाएको छ । नेपालको जनकपुर हुँदै भारतको अयोध्या पठाउन लागिएको कालीगण्डकीको शिलाका कारण धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भारतको अयोध्यामा राम र सीताको मूर्ति बनाउन पठाइने कालीगण्डकी नदीको जलप्रवाहबाट पवित्र बनेका दुई वटा शिला सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका छन् । त्यस शिलालाई सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारले जनकपुरको जानकी मन्दिरमार्फत भारत पठाउन अनुमति दिएका छन् ।

Leave a Reply