पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–४,मा पर्ने नाउरा सम्म बस सेवा सञ्चालन हुन थालेको छ । म्याग्दी यातायात कम्पनी प्रालीले मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि नाउरा जोड्ने सडकमा आइतबारदेखि बस सञ्चालन गरेको हो। नाउरामा निर्माणाधिन अपर म्याग्दीखोला जलविद्युत आयोजनाले बनाएको पहुँचमार्गबाट स्थानीयबासीलाई यातायात सुविधा पुगेको हो ।

सो सडकको खारा–खाम्ला क्षेत्रमा सडक निर्माणमा धवलागिरी गाउँपालिकाले पनि लगानी गरेको छ । नाउरबाट प्रत्येक बिहान १०.३० बजे दरवाङका लागि बस छुटाउने म्याग्दी यातायात कम्पनी प्रा.ली.का अध्यक्ष लालबहादुर थापाले बताउनुभयो ।

बस सञ्चालन भएपछि बगर, मुदी, खिवाङ, चेचुङ, बाँसबोट, छहरी, कल्लेनी, शिवरात्रीखोला, भारवाङ, बिम, खारा, इल्पु लगायत बस्तीका बासिन्दा लाभान्वित हुने कल्लेनीका खगिन पुनले बताउनुभयो । यो सडकबाट जलविद्युत लगायत विकास आयोजना र धौलागिरि चक्रीय पदमार्ग तथा हिमाल आरोहणमा जाने पर्यटकहरु पनि लाभान्वित हुने जनाइएको छ ।

नाउरा देखि दरवाङ रु. २९०, खाम्ला–दरवाङ रु. २५०, खारा बाँसबोट–दरवाङ २००, छरी–दरवाङ १७०, कल्लेनी–दरवाङ १४०, भारवाङ–दरवाङ रु. ८० प्रतिव्यक्तिका दरले भाडादर निर्धारण गरिएको छ ।

केही दिनअघि मात्र बेनी देखि रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट, दग्नाम, दर्मीजा, चिमखोला हुदै कुइनेमंगले जोड्ने सडकमा पनि बस सेवा शुरु भएको थियो । धवलागिरी गाउँपालिकाको मुना हुदै मुदी सम्म पनि बस सञ्चालनका लागि यातायात व्यवसायीहरुको टोलीले केही दिनअघि अध्ययन गरेका थिए । ग्रामिण क्षेत्रमा सडक निर्माण र विस्तार भएसँगै यातायात सेवा पनि विस्तार हुन थालेको छ ।

 

 

 

Leave a Reply