उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ हिस्तानको घराम्दी गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी सञ्चालनमा ल्याइएको छ । दुर्गम गाउँमा स्वास्थ्य सेवाको सुनिश्चितता र स्थानीय सरकारको अनुभूति गराउन गाउँमै स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको हो ।

वडामा रहेको स्वास्थ्य चौकी र छिमेकी गाउँ टिकोटमा रहेको स्वास्थ्य इकाईमा पुगेर सेवा लिन झन्झट र सास्ती हुने भएकाले गाउँमै इकाई स्थापना गरिएको वडा अध्यक्ष माइलन पूर्जा पुनले बताउनुभयो ।

‘स्थानीय बासिन्दाले गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउने भएका छन्,‘स्थानीयको माग र आवश्यकताको आधारमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र सञ्चालनमा ल्याइएको हो,’अध्यक्ष पुनले भन्नुभयो। घराम्दी गाउँबाट टिकोटमा रहेको इकाईमा पुगेर सेवा लिन करिब डेढ घण्टा लाग्ने भएकाले प्राथमिक उपचारमा सहज हुने गरी इकाई स्थापना गरिएको अन्नपूर्ण गापा स्वास्थ्य शाखाले जनाएको छ ।

करिब ७५ घरघुरी रहेको घराम्दीमा ३५० भन्दा बढीको बसोबास रहेको छ । घराम्दी हिस्तानको दोस्रो ठुलो बस्ती हो । इकाई उद्घाटनमा गाउँपालिकाका स्वास्थ्य प्रमुख समुन्द बरुवाल सहितको टोलीको उपस्थिती रहेको थियो ।

ग्रामिण क्षेत्रमा आपतकालिन स्वास्थ्य सेवाका लागि इकाई प्रभावकारी मानिन्छ ।इकाईको स्थापना भएपछि स्थानीयबासी समेत उत्साहित भएका छन् । इकाईमा स्वास्थ्यकर्मी सहित प्रयाप्त औाषधी, उपकरण सहितको ब्यवस्था गरिएको छ ।

संविधानले स्वास्थ्य सेवालाई मौलिक अधिकारमा राख्दै कुनै पनि नेपाली नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगराउने कानुनी व्यवस्था गरेको भन्दै अन्नपूर्ण गाउँपालिकाले यसअगाडी पाउद्धार, घोडेपानी, खिवाङ र टिकोटमा इकाई स्थापना गरेको छ भने आवश्यकता परेमा वडाका जनप्रतिनिधिको सिफारिसमा थप गर्ने जनाएको छ ।

Leave a Reply