म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा सुरु भएको सातौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला,गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक,व्यापार मेलाको अवसरमा आयोजित पुख्र्यौली नृत्य प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाको पुख्यौली समूह बिजयी भएको छ ।

परम्परागत कला संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजित पुख्र्यौली नृत्य प्रतियोगितामा नेपाल मगर संघको बेनी नगरपालिकाको टिम दोस्रो भएको साँस्कृतिक कार्यक्रम संयोजकम्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सविन श्रेष्ठले बताउनुभयो । मगर समुदायको बाहुल्य रहेको म्याग्दीमा सोरठी,यानीमायाँ र सरस्वती नृत्यको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको म्याग्दी उवासंघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

‘पुख्यौलीकलाहरू म्याग्दीको सम्पत्ति हुन्, ‘सहभागी संख्या कम भएपनि हामीले भविस्यमा पनि प्रतियोगिता सञ्चालन गर्नेछौ’ अध्यक्ष कटुवालले भन्नुभयो । म्याग्दीमा मगरसँगै छन्त्याल समुदायले पनि आफ्नो पुख्र्यौली संरक्षणका लागि बडा दसैं, छेवर, विवाह, कुलपूजाजस्ता शुभकार्यमा यस्ता नृत्य प्रदर्शन गर्दै आएका छन् । प्रतियोगितामा रघुगंगा पुख्र्यौली नृत्य, क्षेत्री समाज म्याग्दीले सहित ४ टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्रथम र दिृतीय हुनेले क्रमश नगद २५ हजार र १५ हजार पुरस्कार प्राप्त गरेका छन् । बेनीको खुलामञ्चमा पुस २८ गतेदेखि सुरु भएको महोत्सवको अवसरमा आयोजित रत्यौली प्रतियोगितामा बाह्मण समाज प्रथम, क्षत्री समाज द्धितिय भएको थियो । आगामी माघ ७ गतेसम्म हुने महोत्सवमा मनोरञ्जनात्मक कार्यक्रम सहित विभिन्न प्रतियोगिता समेत सञ्चालन भइरहेको छ ।

Leave a Reply