नेपाली समाजमा ससुरा र बुहारीबीचको सम्बन्ध सुमुधुर हुन्छ । अर्को शब्दमा ससुरालाई दोस्रो बुबाको सम्मान समेत दिइन्छ। तर, म्याग्दीमा समान्य घरायसी विवादमा ससुराले बुहारीलाई दाउराले हानेर हत्या गरेका छन् । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–३, फलियागाउँकी २८ वर्षीया अनिता रानालाई उनका ५३ वर्षीय ससुरा इन्द्रबहादुर भण्डारीले दाउराले प्रहार गरी हत्या गरेका हुन् ।

मंगलबार विहान १० बजे सामान्य विवादमा भण्डारीले एक्कासी दाउराले प्रहार गरेपछि बुहारी राना गम्भीर घाईते भएकी थिईन् । गम्भीर घाईते अवस्थामा उद्धार गरिएकी रानाको बेनी अस्पतालमा उपचारको क्रममा मंगलबार नै चिकित्सकले मृत घोषित गरेका थिए । मृतक रानाको पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ ।

मृतकका श्रीमान नेपाल प्रहरीमा कार्यरत छन् । अभियुक्त भण्डारीलाई थप अनुसन्धानका लागि बुधबार जिल्ला अदालत म्याग्दीबाट ५ दिनको म्याद थप गरिएको प्रहरी निरिक्षक एवम् सुचना अधिकारी राजन ढकालले बताए ।‘तत्कालै नियन्त्रणमा लिइएको थियो, चिर्पटले बुहारीको टाउकोमा प्रहार गरेको देखिन्छ‘ प्रनानी ढकालले भने । अभियुक्त भण्डारीलाई कर्तब्यज्यान मुद्धामा अनुसन्धान भइरहेको छ । घटनाबाट फलियाँगाउ स्तब्ध भएको छ ।

Leave a Reply