पर्वतको जलजला गाउँपालिकाको १३ औ गाउँसभा बुधबार लामाखेतमा सम्पन्न भएको छ । सभामा गाउँपालिकाका अध्यक्ष राजप्रसाद आचार्यले गर्नुभएको बजेट संसोधन, शिर्षकान्तर, चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन, लेखा समिति र गाउँपालिकाको भवन निर्माणका लागि जग्गाको अध्ययन गर्न कार्यदल गठन गर्ने प्रस्ताव पारित भएको छ ।

अल्या बजेटबाट जिम्मेवारी सरेका र समपुरक कोषबाट विभिन्न योजना तथा कार्यक्रमका लागि रु. दुई करोड ४८ लाख बिनियोजन भएको छ । अधुरा योजनालाई पूर्णता दिन र सिर्जना भइसकेको दायित्वको भुक्तानीका लागि बजेट बिनियोजन गरेको अध्यक्ष आचार्यले बताउनुभयो ।

यसैगरी गाउँसभा सदस्य टकबहादुर पुनको संयोजकत्वमा खिमबहादुर खत्री र बिष्णु पुन सदस्य रहेको लेखा समिति गठन भएको छ । वडा नम्बर ४ का अध्यक्ष भरत जिसीको अध्यक्षतामा बलबहादुर फगामी र टुङ्गनाथ शर्मा सदस्य रहेको जग्गा अध्ययन सम्बन्धी कार्यदल गठन भएको छ ।

समितिको सिफारिस अनुसार अस्थायी संरचना बनाएर गाउँपालिकाको कार्यालय सञ्चालन गर्न रु. तीस लाख बिनियोजन भएको छ । घर, टहरा र खेतीयोग्य जमिनमा असर गर्ने साँध सिमानाको अनावश्यक रुख हटाउने सम्बन्धी प्रस्ताव पारित भएको छ ।

संघीय सरकारसँगको साझेदारीमा छ वटा वडा कार्यालयको भवन निर्माण थालिएको, बेनी–भुरतुला सडक ढलान भैरहेको, घुम्ति शिविरबाट वडामै सेवा दिएको अध्यक्ष आचार्यले बताउनुभयो ।

गत असारको गाउँसभाले बिनियोजन गरेको रु. ४८ करोड बजेट रु. २० करोड ६५ लाख २६ हजार ६५३ आम्दानी र रु. १६ करोड १८ लाख ४२ हजार ९७२ अथवा ३२.५९ प्रतिशत बजेट खर्च भएको छ । छ महिनामा रु. ६६ लाख ५२ हजार ७१ आन्तरिक आम्दानी भएको छ । विभिन्न ११ वटा कार्यविधि र मापदण्ड पारित भएको छ ।

गत पुष २९ गते गाउँसभाका बहुमत सदस्य उपस्थित नभएपछि स्थगित गरिएको थियो । बुधबारको सभामा भने अधिकांश सदस्यहरु सहभागि भएका थिए । छलफलमा सहभागी हुदै गाउँसभा सदस्य टकबहादुर पुनले कार्यपालिका अन्तरगतको विषयगत समितिलाई सक्रीय बनाउनुपर्ने बताउनुभयो ।

भिमसेन बराइलीले पुँजिगत खर्च अपेक्षाकृत नभएकोमा असन्तुष्टि जनाउनुभयो । क्षेत्रबहादुर पुनले वडा कार्यालय भवन निर्माणको जिम्मा लिएका ठेकेदारले दोस्रो तेस्रो व्यक्तिलाई ठेक्का बेचेको भन्दा गुणस्तर र मापदण्ड अनुसार भवन बनाउनुपर्ने बताउनुभयो ।

लकबहादुर पुर्जाले विकृति र सामाजिक समस्याका रुपमा देखिएको मेलाजात्रालाई नियम गर्न आवश्यक देखिएको बताउनुभयो । सदस्य बिष्णु सार्कीले गाउँसभा र पालिकाका कार्यक्रम समयमै शुरु र सम्पन्न गराउन ध्यानाकर्षण गराउनुभयो ।

Leave a Reply