म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित नेतृत्व विकाससम्बन्धी तालिम सम्पन्न भएको छ । बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजना र लेब इन्क्लुजन डेनमार्कको सहयोगमा नेतृत्व विकाससम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।

तीन दिनसम्म चलेको तालिममा नेतृत्व गर्ने शैली, नेतृत्वमा हुनुपर्ने गुणहरु, नेतृत्वका लागि आवश्यक पर्ने तत्वहरु, संस्थागत मूल्याङ्कनलगायत विविध विषयहरुमा सहजीकरण गरिएको आयोजकले जनाएका छन् ।

तालिमको बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका केन्द्रीय अध्यक्ष राजु बस्नेत र केन्द्रीय सदस्य टिकाराम सापकोटाले सहजीकरण गर्नुभएको थियो । तालिमको समापन गर्दै केन्द्रीय अध्यक्ष बस्नेतले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई परिवार, आफन्तजन, छरछिमेक, समुदाय र सरोकारवालाहरुले सहयोग गरेमा उनीहरुमा परिवर्तन आउने बताउनुभयो ।

उहाँले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुले राज्यले उपलब्ध गराउने सम्पूर्ण सेवासुविधाहरु पाउने वातावरण बनाउनका लागि सरोकारवाला निकाय सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिका–६, अर्थुङ्गेका वडा अध्यक्ष कृष्णबहादुर बानियाँले समाजमा रहेका अन्य व्यक्तिहरुको भन्दा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अवस्था एकदमै फरक रहेको बताउनुभयो । बौद्धिक अपाङ्गताको क्षेत्रमा राज्यले उपलब्ध गराउँदै आइरहेको सेवासुविधा पर्याप्त नभएकाले यसको वृद्धि गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा सहभागीहरु विष्णुकुमारी आचार्य, प्रेम श्रीष र गणेश सुवेदीले अनुभव मन्तव्य सुनाउनुभएको थियो । तालिमको समापनसत्र बौद्धिक अपाङ्गताका अभिभावक संघ म्याग्दीका अध्यक्ष जमुना पौडेलको अध्यक्षता र केन्द्रीय सदस्य टिकाराम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा म्याग्दीसहित बागलुङ, पर्वत र कास्कीबाट गरी बौद्धिक अपाङ्गताका अभिभावक तथा व्यक्तिहरुसहित १६ जनाले सहभागिता जनाएका थिए ।

Leave a Reply