जिल्लाको मंगला गाउँपालिका–२ सिममा रहेको उखु पेल्ने कोलको लोकप्रियता कायमै छ । विसं २०१९ मा स्थानीयवासी खगेन्द्र केसीले कोल स्थापना गर्नुभएको थियो । हाल काठमाडौँमा बस्दै आउनुभएका उहाँले अहिले छिमेकी र घरकुरुवालाई कोल सञ्चालनको जिम्मा लगाउनुभएको छ ।
“पचास वर्षअघि जसरी उखु पेल्न आउने गर्दथे अहिले पनि त्यस्तै छ,” खगेन्द्रका छिमेकी समेत रहेका आफन्त दिपक केसीले भन्नुभयो “उखु पेल्ने आधुनिक मेसिन विकास भएपनि यो कोलको महत्व र प्रयोग कायमै छ ।”
बेनी–दरवाङ सडकको छेउमै रहेको खगेन्द्रको घरमा हरेक वर्षको पुष र माघ महिनामा कोल जडान गरिन्छ । सो कोलमा उखु पेल्न बाबियाचौर, कुहुँ, अर्मन, बरंजाका साथै बेनी नगरपालिका र मालिका गाउँपालिकाबाट कृषकहरू आउने गरेका छन् । कोलमा उखु पेले वापत १५ लिटर बराबर रु ८० शुल्क तोकिएको छ । उखु पेल्न पालो लगाउनुपर्छ ।
“कोलमा पेल्दा धेरै रस आउने, शुद्ध र राम्रो हुन्छ,” मंगला–५ सिर्कुमकी लिलावती सापकोटाले भन्नुभयो “कोलमा पेलेको उखुको रस स्वस्थकर पनि हुन्छ । त्यही भएर डेढ घण्टा हिडेर उखु पेल्न आएको हो ।”
कोलमा पेलेर निकालिएको उखुको रस पकाएर खुदो बनाउने गरिन्छ । मंगला गाउँपालिका–५ पिपलबोटकी चन्द्रकली सापकोटाका अनुसार चिनीको उपलब्धता नहुँदा गाउँघरमा गुलियोगका लागि खुदो प्रयोग हुन्थ्यो । “खुदोलाई पूजाआजामा पनि प्रयोग गरिन्छ,” उहाँले भन्नुभयो “तत्कालीन चिनी पाइदैनथ्यो । गुलीयो बनाउन खुदो चाहिन्थ्यो ।”
मानिस वा गोरुले तेर्सो पारिएको काठलाई घुमाउएर मुडा र फलामबाट बनाइएको कोल चलाउने गरिन्छ । गोरु नभएको अवस्थामा मानिसले काठ घुमाउने गर्दछन् । फलामको कोलको बीचमा उसु राखेर काठ घुमाएपछि रस झर्ने गर्छ । कोल चलाउन दुईदेखि तीन जना जनशक्ति आवश्यक पर्छ । रासस