उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको प्रवेश विन्दुमा बेनी–गलेश्वर खण्डको सडक कालोपत्रे गर्नका लागि शुक्रबार शिलन्यास गरिएको छ ।  जय धन्नजय/मंगलादेवी सुवास जेभी, मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लीले कालोपत्रे गर्ने जिम्मा लिएको बेनी गलेश्वर सडकको शिलन्यास बेनी नगरपालिकाका मेयर सुरत केसीले गर्नुभएको हो ।

उक्त सडकको शिलन्यास गर्दै मेयर केसीले निर्माण ब्यवसायीलाई तोकिएको समयममा सडक स्तरोन्नती गर्न निर्देशन गर्दै सडक निर्माणको क्रममा आउने समस्यालाई समाधान गर्नका लागि समन्वय गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

२ किलोमिटर १०२ मिटर सडक कालोपत्रे गर्नका लागि मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लीले भ्याट/ पिएस सहित १२ करोड ७५ लाख ९४ हजार ४३६ रुपैयाँ ठेक्का लिएको थियो । ७२० दिनभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित पुस १७ गते सम्झौता गरेको थियो ।

उक्त जेभीका संचालक सुवासचन्द्र कार्कीले समयभित्रै काम गर्ने योजनासहित शुक्रबार मजदुर, दूईवटा डोजर लगायतको मेशिन लिएर काम सुरु गरिएको बताउनुभयो ।

मेशिन र मजदुर लगायतको उपकरण थपेर काममा गति दिने योजना रहेको कार्कीले भन्नुभयो । सडक निर्माण कार्यमा बेनी नगरपालिका, प्रदेश सरकार, कालीगण्डकी कोरिडोर लगायतको साथ सहयोग पाए तोकिएको मिति भन्दा अगावै काम सम्पन्न गर्ने प्रतिवद्धता उहाँले जनाउनुभएको थियो । “फराकिलो सडकसहित कल्भट, आरसीसी ढलान, नालासहित ग्राभेल र बेससहित आठ मिटर चौडाई कालोपत्रे गरिने छ ।”

सडक स्तरोन्नतीमा सम्झौता अनुसारको काम गुणस्तरीय र समयमै कालोपत्रे काम सम्पन्न गराउनका लागि आयोजनाले प्रभावकारी रुपमा अनुगमन, निरिक्षण र समन्वय गर्नेे बेनी–जोमसोम– कोरला सडकका योजना प्रमुख जगत प्रजापतिले भन्नुभयो ।

यस सडक स्तरोन्नति समयमै सम्पन्न भएमा बेनी नगरपालिकासहित रघुगंगा र अन्नपूर्ण गाउँपालिका र मुस्ताङबासी र घुम्न आउने पर्यटक सहयोग पुग्ने अपेक्षा गरिएको छ । कालीगण्डकी नदीको कटान र माथिबाट खहरेभेलले सडक जिर्ण र सागुरो बन्दै गएपछि जिल्लाका जनप्रतिनिधि र सराकोरवालाहरुले सडक स्तरोन्नतीका लागि पहल गरेका थिए ।

 

Leave a Reply