विनय श्रेष्ठ
पुस २८ गते विधिवतरुपमा उद्घाटन भएको म्याग्दी महोत्सव माघ ७ गते समापन भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजना रहेको महोत्सव १० दिने तितामिठा र सुखदुःख बिच आयोजकले सफलतापुर्वक पार लगाएको छ ।
कोरोना महामारीले थलिएको अर्थतन्त्रलाई म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवम् प्रदेश स्तरीय कृषि , पर्यटन, औद्योगिक तथा व्यापार मेला –२०७९ बाट उकास्न गरेको आयोजकको पहल सह्यनिय छ । कुनै पनि कुराको सकारात्मक र नकारात्मक पक्ष दुवै हुन्छ । महोत्सव सकिरहँदा पनि सकारात्मक पक्ष र सुधार गर्नु पर्ने पक्ष बिच समीक्षा हुनु जरुरी छ ।
प्रसंग सकारात्मकबाटै शुरु गरौं ।
म्याग्दी महोत्सवको सातौं संस्करणको शुभारभ्भ दिनको बजार परिक्रमामा जिल्ला बासीको उल्लेख्य सहभागी रह्यो । कतिले आफ्नो संस्कृति भेषभुषा सहित प्रस्तुत भए भने कतिको भौतिक उपस्थिति । आयोजकको अनुरोधमा बेनी बजार बेहुली झै सिंगारिएको थियो । घरघरमा जलघडाले स्वागत गरेका थिए । झाकि र टोल सजावटमा तत्तत प्रस्तुति अनुसार पुरस्कृत पनि भए ।
महोत्सव भएपछि आन्तरिक पर्यटन खचाखच आउने नै भए । महोत्सवको अर्को आकर्षण स्थानीय देखि राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति तर अधिकांशले आशा गरेजस्तो प्रस्तुति दिन सकेनन् । दर्शकलाई खिन्न बनाए । अबका दिनमा सफल प्रस्तुति दिने नसकेका कलाकारलाई आयोजकले “नो एण्ड नट अगेन” भन्नै पर्छ । आयोजक भने प्रत्येक दिनको निश्चित समय तालिका बनाएर चल्ने प्रयास ग¥यो र अधिक सफल पनि रह्यो । महोत्सवका आकर्षणका रुपमा स्टलहरु रहे।
पालिका र महिला उद्यमीहरुले प्रबर्द्धन गरेका स्थानीय उत्पादनहरु, विद्यालयले प्रदर्शन गरेका विज्ञान प्रदर्शनी , डिभिजन वन लगायतका कार्यालयहरुको वनपैदावार प्रदर्शनी सहित कृषि मेला प्रदर्शनी, फोटो प्रदर्शनी हेर्न लायक थियो । भाडा तिरेर बसेका स्टलहरुमा शुरुशुरुमा नैराश्यता छाएता पनि महोत्सव सकिदै गर्दा ग्राहकको थेगि नसक्नु चापले खुशी बनेर फर्किए ।
तर बाहिरबाट आएका घुम्ती ब्यापारीहरु पैसा सोहोर्दै फर्किदा म्याग्दी बासीको व्यापार कति महिना चट हुन्छ ? सोचनिय विषय हो । स्टल व्यापारीहरु आधिकारिक दर्तावाल हुन कि होइनन् ? बेचिएका सामान ग्यारेन्टीवाला हो कि होईन ? प्रश्न उठ्छ । एधाकता राति स्टलबाट चोरी भएको पनि सुनियो जस्ले आगामी दिनका स्टल सुरक्षा पनि चुनौतिको विषय बन्यो ।
होटलवालालाई त निश्चितरूपमा छोपाछोप भयो होला नै । स्टेज वरपर र होटल भरि टुबोर्गका पोष्टरहरु, बिच बितका ८८४८ भोड्काको सालिक स्तभ्भ । न समयको छेकबार न त उमेरको । एउटा सचेत नागरिकले टिनएजका केटाकेटीहरु बिग्रने प्लेट फर्म बन्यो भनेर आरोप लगाई रहला आयोजक भने जवाफदेही बन्नै पर्छ । ध्रुमपान र मध्यपानको प्लेट फर्मबाट जोगाउन सकियो भने महोत्सव थप उचाइमा पुग्नेछ ।
महोत्सवमा सयौं स्टल रहदा भने स्थानीय ठेकीले भने बाहिरै सडकमै तेर्सिनु प¥यो, भित्र प्रवेश पाएन । भरिबहादुरको स्थानीय कला फोटो खिच्न मै सिमित रह्यो । मारामार ममफुली बिक्री भैरहदा बरंजा र दोवाका बदामको स्वाद लिन पाइएन । हारेचाकुको स्वादलाई मुखमा राख्दा बिलाउने गुलियो फुलाले बिर्साईदियो ।
मुस्ताङ र नागीका आलु खाएका म्याग्दिलीहरु सिन्काका उनेको विदेशी आलुलाई आइसी पचास तिरे । मकै भट्टको ठाउँ चटपटले लियो । फलामबाट बनेको झाङ्गा र आसी कहि कतै देखिएन । न त तरुल चाख्न पाईयो न त सखरखण्ड । बरु रमाइलो मेला, बेलुन र खेलौनाले लाखौं स्वाहा पा¥यो । आइसीमा परिणत भयो ।
महोत्सवको आकर्षणको रुपमा नृत्य प्रतियोगीता, गण्डकी आइडल, दोहोरी गित र खेलकुद रह्यो । म्याग्दीको गहना दोहोरीमा पुरस्कार राशि अनुसारको टिम सहभागी नभए पनि जति आए स्तरीय आए दर्शकको मन जिते । अर्को व्यानरमा स्थान नपाए पनि खेलकुद तर्फ छेलो, लटो तान्ने, घैटो फोर्ने जस्ता खेलले मौलिक खेल जगेर्ना गर्ने प्रयास ग¥यो । भलिबल, बास्केटबल। ब्याडमिन्टन र दौड सफलतापुर्बक सम्पन्न भएपनि महिला पुरुष भलिबलमा सोचे अनुरुप टिम सहभागी भएनन्। दर्शकले भने टिकट काटेरै भएपनि खेल अवलोकन गरेर खेल र खेलाडी प्रति माया जगाईदिए ।
पास ??? महोत्सवमा पासको चर्चा गरिएन भने अपुरो हुन्छ । सामाजिक सञ्जालहरुमा पनि विभिन्न प्रतिक्रिया हरु आए, जस्ले लेखे उसको नजरमा सहि होला नै । तर यहाँ विचार गरिदिनु पर्ने कुरा के छ भने दस दिनको महोत्सव सम्पन्न गर्न महिनौ तैयारी गर्नु पर्ने हुन्छ, जस्का लागि कैयन मानिसहरू पर्दा पछाडि खटेका हुन्छन् । तिनीहरूले पास भिर्दा अन्यथा लिनु हुदैन । आयोजक र अतिथी, उससमितिका सदस्यहरु, कलाकार, बाद्यवादक, खेलाडी, स्वयंसेवक, आर्थिक, नैतिक र भौतिक सहयोग दाताहरुसंग पास हुने नै भयो ।
अहोरात्र खटेने आयोजक र मान्यजन अतिथिका घरपरिवारसम्म पास पुग्नुलाई स्वभाविक मान्नु पर्छ । तर सिमारेखा भन्दा बाहिर पास पुग्नु हुदैन । कस्लाई किन पास दिईयो भन्ने रेकर्ड आयोजकसंग हुनुपर्छ । बजारबासीलाई पास र ग्रामीण भेगलाई टिकट भन्ने आरोपबाट मुक्त हुनुपर्छ । यहाँ स्पष्ट हुनु पर्ने कुरा के छ भने माथि उल्लेखित कारणबाहेक सबै बजारवासीले पास पाएका छैनन् । टिकट काटेका छन् ।
केही तलमाथि हुनु अस्वभाविक होईन । स्मरण गरौं बजारबासीलाई घरघर गएर दुई हजारका टिकट कटाएका छन्, जुन पैसाले काउण्टरमा बीस पटकसम्म टिकट काट्न सकिन्छ । सामाजिक सञ्जालमा भनेजस्तो पासमा बेथिति भएकै हो भने आयोजक सच्चिनु जरुरी छ । अन्यथा नहोस् । मात्र यहाँ महोत्सवले ग्रामीण भेग र बजावासी बिच खाडल नखनोस् भन्ने कुरामा आयोजक सजक हुन जरुरी छ ।
जति तर्क वितर्क गरेपनि सातौं म्याग्दी महोत्सवले वाईवाई गरेको छ । आयोजकले घनिभुत रुपमा समीक्षा गर्ला नै । सकारात्मक पक्षलाई अवलम्बन गर्दै सुधार गर्नु पक्षलाई अर्को महोत्सवमा लागू गर्ला नै । तर सचेत नागरिकहरुले महोत्सव कति आवश्यक? सबल पक्ष के ? सुधार गर्नु पक्ष के के ? सम्पन्न महोत्सव पास कि फेल ? समक्षा गर्न जरुरी छ कि ?
अस्तु !
लेखक:-प्रकाश माविका शिक्षक एवम् बेनीअनलाइन र बेनी साप्ताहिक समाचारपत्रका नियमित स्तम्भकार हुन्