सामुदायिक विद्यालयको पनपाठनलाई व्यवस्थित र गुणस्तरिय बनाउन पर्वतको जलजला गाउँपालिकाले गरेको आन्तरिक परीक्षाको नतिजा विश्लेषण गरेपछि अतिरिक्त कक्षा गर्ने भएको छ । आन्तरिक परीक्षामा विद्यार्थीको नतिजा सन्तोषजनक नदेखिएपछि विद्यार्थीलाई अपेक्षित शैक्षिक उपलब्धी हासिल हुने गरी गाउँपालिकाले समेत शुल्क दिएर बिहान वा साँझ अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख एकिन्द्र खत्रीले बताउनुभयो ।

‘आन्तरिक परीक्षाको नतिजाले अतिरिक्त कक्षाको आवश्यकता देखियो,‘शैक्षिक गुणस्तर सुधारका लागि अनिवार्य गरेका छौ’ खत्रीले भन्नुभयो । पालिकाभित्र कक्षा ३,५,८ र १० को आन्तरिक परीक्षा लिएर नतिजा विश्लेषणमा तत्काल ८, ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीलाई अंग्रेजी, विज्ञान र गणित विषयमा बार्षिक परीक्षालाई लक्षित गरी अतिरिक्त कक्षा सञ्चालन गरिने शिक्षा शाखाले जनाएको छ ।

अतिरिक्त कक्षाका लागि १० मावि र २ आमाविका गरी कुल ६४४ जनालाई प्रति विद्यार्थी गाउँपालिकाले १ हजार उपलब्ध गराउने छ । अर्धवार्षिक र वार्षिक परीक्षाको नतिजामा कमजोर देखिएका विद्यार्थीका अभिभावकलाई समेत विद्यालयले जानकारी गराउने गरेको छ । गाउँपालिकाले विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गर्न उपलब्ध गराएको नगदले अपुग भएमा विद्यालयमार्फत थप समन्वय गरेर भएपनि माघ, फागुन र चैत्र महिना अतिरिक्त कक्षा गरिने छ ।

गाउँपालिका अध्यक्ष राजु आचार्यले सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक गतिविधिमा अब्बल बनाउन आन्तरिक परीक्षालाई नियमित गर्ने, कमजोर विद्यार्थीको पहिचान गरी थप कक्षा सञ्चालन सहितका योजनालाई निरन्तरता दिने बताउनुभयो । विद्यार्थीलाई सामुदायिक विद्यालयमा आर्कषित गर्ने, टिकाउने र सिकाउने अभियानलाई प्राथमिता दिने गाउँपालिकाको योजना छ ।

Leave a Reply