म्याग्दीको बेनी नगरपालिका-९, घतानको तोरीपानीमा  सकारात्मक सोच, भाषणकला तथा कानुनी सचेतनासम्बन्धी उत्प्रेरणामूलक तालिम सम्पन्न भएको छ । ग्रामीण भेगका महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित बेनी नगरपालिका–९ नम्बर वडा कार्यालय घतानको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

वडास्तरीय मूल आमा समूह घतानको आयोजनामा ३ दिनसम्म चलेको तालिममा घतानको माथिल्लो भेगका महिलाहरुले सहभागिता जनाएका थिए । तालिममा सकारात्मक सोच, भाषणकला, कानुनी सचेतना, क्षमता अभिवृद्धिलगायत विभिन्न विषयहरुमा सहजीकरण गरिएको थियो । तालिममा प्रशिक्षकहरु जमुना शर्मा, सुष्मा पौडेल र प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो ।

तालिम समापनसत्रलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले समुदायस्तरमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा महिलाहरुले सक्रिय सहभागिता जनाउनुपर्ने बताउनुभयो । उहाँले तालिममा सिकेको सिकाइलाई निरन्तरता दिनुपर्ने भन्दै वडा कार्यालयले गरेको लगानीको प्रतिफल देखिनुपर्ने बताउनुभयो ।

अब आमा समूहले भवन बनाउने तथा भाँडावर्तन किन्नेभन्दा पनि उत्पादनसँग जोडिन आवश्यक रहेको बताउँदै उहाँले गाउँवस्ती र टोलका हरेक महिलाहरु दिदीबहिनीहरु उत्पादन र व्यवसायमूलक क्षेत्रमा आबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

बेनी नगरपालिका–९, घतानका वडा अध्यक्ष चक्रबहादुर केसीले तालिम अवधिभरमा सिकेका ज्ञान, सिपलाई आगामी दिनमा पूर्ण रुपले व्यवहारमा उतार्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो ।

उहाँले बोल्नका लागि पटकपटक अभ्यास गर्नुपर्ने र तालिमको ज्ञान, सिपलाई व्यवहारमा उतार्नुपर्ने बताउँदै आउँदा दिनहरुमा पनि वडा कार्यालय र नगरपालिकाबाट समुदायस्तरमा क्षमता अभिवृद्धि हुने खालका कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।

तालिमको समापनसत्र वडास्तरीय मूल आमा समूहका अध्यक्ष रश्मी बानियाँ खड्काको अध्यक्षता र सचिव अमिता खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा तालिमका सहभागीहरु सुनिता बानियाँ, मनु परियार र जमुना चोखालले अनुभव सुनाउनुभएको थियो ।

Leave a Reply