---Advertisement---

बन्चित भएका बालबालिकाहरुलाई पूर्ण खोपको पहुँचमा ल्याउन पहल

On: January 24, 2023 10:43 AM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा जिल्लामा पूर्ण खोप कार्यक्रमको समीक्षा तथा पूर्ण खोप दीगोपना र सरसफाइ प्रवद्र्धनका लागि योजना तयारी गोष्ठी सम्पन्न भएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्वाधार सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित कार्यक्रम गरिएको हो ।

जिल्ला खोप समन्वय समिति म्याग्दी र स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा सम्पन्न योजना तयारी गोष्ठीलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले जिल्लालाई पूर्ण खोप सुनिश्चित गर्नका लागि प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले पूर्ण खोप लगाउनबाट बञ्चित बालबालिकाहरुलाई खोपको पहुँचमा ल्याउन स्थानीय तहले आवश्यक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सरकारी मापदण्डअनुसार बालबालिकाहरुलाई पूर्ण रुपमा खोपहरु लगाउनुपर्ने बताउनुभयो । उहाँले स्वस्थ, दक्ष, सक्षम र योग्य नागरिक उत्पादन गर्नका लागि बच्चा गर्भमा रहेदेखि जन्मिएको २ वर्षसम्मको अवधिमा उचित खानपान, सरसफाइ र स्वास्थ्यका सबै मापदण्डहरु पुरा गर्न आवश्यक रहेको बताउँदै समुदायमा खोपको सुनिश्चितता गर्नका लागि सबै प्रतिबद्ध रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममाथि सहजीकरण गर्दै स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले स्वास्थ्य क्षेत्र विकासका लागि एउटा प्रमुख एजेण्डा भएको बताउनुभयो । उहाँले देशमा समृद्धि ल्याउनका लागि बाल तथा मातृ मृत्युदर घटाएर औषत आयु बढाउनुपर्ने बताउँदै खोप कार्यक्रम सँगसँगै सरसफाइ प्रवद्र्धन कार्यक्रम पनि सञ्चालन भैरहेको बताउनुभयो । अहिले एउटा बच्चालाई पूर्ण खोप लगाउनको लागि ३० हजार रुपैयाँ खर्च हुने बताउँदै नेपालमा बालबालिकाहरुलाई जम्मा १३ वटा मात्रै खोप लगाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले गोष्ठीको उद्देश्य, स्वास्थ्य, स्वास्थ्य र विकास, आधारभूत स्वास्थ्य सेवा, दीगो विकास लक्ष्य प्राप्ति, समृद्धि र विकासका सूचक, स्वास्थ्यः विकासको मुद्दा, स्वास्थ्य र गरिबी चक्रको सम्बन्धलगायत विविध विषयहरुमा सहजीकरण गर्नुभएको थियो । यसैगरी कार्यक्रममा पूर्ण खोपको विषयमा स्वास्थ्य कार्यालयका कोल्चेन सुपरभाइजर वीरेन्द्रकुमार चौधरीले पनि सहजीकरण गर्नुभएको थियो ।

राष्ट्रिय खोप कार्यक्रमको लक्ष्य, उद्देश्य, उपलब्धि र चुनौती एवं आधारभूत स्वास्थ्य सेवाको बारेमा जानकारी गराउन तथा पालिकास्तरीय खोप कार्यक्रमको समीक्षा गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनले जनाए अनुसार मानिस स्वस्थ हुनका लागि शारिरीक, मानसिक, सामाजिक र भावनात्मक रुपमा सक्षम र स्वस्थ हुनुपर्दछ ।

जिल्लास्थित पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय प्रशासन तथा सुरक्षा निकाय, कार्यालय र संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायत सहभागी कार्यक्रम जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको अध्यक्षता र स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भीमप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । यसअघि हिमाली जिल्ला म्याग्दीलाई २०७१ साल चैत १५ गते नेपालको छैटौं पूर्ण खोपयुक्त जिल्लाको रुपमा घोषणा गरिसकिएको छ।