जिल्लामा लगाइएको आलुखेतीमा डढुवाको रोगको प्रकोप फैलिएको छ। अधिकांश क्षेत्रमा आलुमा डढुवाको प्रकोप देखिएको हो। डढुवाले किसानको आलु सखाप भएपछि अहिले किसान चिन्तित छन्।

व्यावसायिक आलुखेती गर्दै आएका बेनी नगरपालिका, मालिका र रघुगंगा र मंगला गाउँपालिकाका किसानको आलु डढुवाले सखाप पारेको कृषि प्राविधिकले बताएका छन्।

अधिकांश किसानले लगाएको आलुमा मौसम परिवर्तन भएसँगै डढुवाको प्रकोप फैलिएको हो। चिसो मौसम सुरुवात भएपछि किसानले ध्यान नदिँदा कतिपय ठाउँको बाली नष्ट भएको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए। रघुगंगा गाउँपालिका ६ पाखापानी र ठाडाखानीमापनि डढुवाको संक्रमण फैलिएको किसान दलबहादुर छन्त्यालले बताए।

खेती गर्दा ध्यान दिने र प्राबिधिकको सल्लाह अनुसार समयमै खेतीपाती रेखदेख गर्ने गरे आलुमा रोग–किरा लाग्नबाट बचाउन सकिने कृषि ज्ञानकेन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए।

म्याग्दीमा व्यावसायिक रूपमा एक सय  हेक्टर बढी क्षेत्रफलमा आलु खेती गरिएको छ। आलु सुपरजोन, स्थानीय पालिका र किसानको साझेदारी बिउमा अनुदान पाई किसानले करिब एक हजार क्विन्टल बीउ लगाएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ।

पछौटे डडुवा आलुबालिमा लाग्ने रोग मध्ये प्रमुख रोग भएको कृषि प्राविधिक बानियाँले बताए।  उनका अनुसार यस रोगबाट हुने क्षतिको क्रम हरेक वर्ष बढिरहेको छ। तराईका जिल्लामा समस्या बनेको यो रोग पहाडमा पनि फैलिने क्रममा छ।

यसको लक्षण संक्रमण शुरुको अवस्थामा पातमा हल्का हरियो रंगका विभिन्न आकारका थोप्ला देखिने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सिग्देलले जानकारी दिए। ओसिलो वातावरणमा ढुसीको अत्यधिक विकास भई पातको तल्लो सतहमा थोप्ला वरिपरि कपासको घेरा जस्तो देखिन्छ। रोग बढी हुँदै गयो भने पात पूरै सुकेर डढे जस्तो हुन्छ भने अनुकुल वातावरण भइरहे पात, काण्ड, डाठ र आलुमा समेत संक्रमण हुने उनी बताउँछन्।

फाइटफथोरा इन्फेस्टेन्स नामक ढुसी नै यो रोगको प्रमुख कारक तत्त्व भएको विशेषज्ञले बताएका छन्। यो प्रजातिका ढुसीमध्ये मेटिङ टाइप पी–१ र मेटिङ टाइप पी–२ नामक उपप्रजाति नेपालमा पाइएको छ।

यो रोगको अनुकुल विकासका लागि वायुमण्डलको सापेक्षिक आर्द्रता ८०.९५५ र रातिको तापक्रम १०.१२ डिग्रसेल्सिय लामो समयसम्म सिमसिमे पानी, दिनमा घाम नलागेर बादल लागेमा र हावा, पानी, बिउ र माटोको माध्यमबाट यो रोग देखा पर्ने विशेषज्ञको भनाइ छ।

यो रोग लाग्न नदिनम्यान्कोजेब वा बेभिस्टिन २ ग्राम १ लिटर पानीमा हालेर आधा घण्टा बीउ भिजाएर छायामा सुकाएर रोप्न विशेषज्ञले सुझाव दिएका छन्। यस्तै र ट्राइकोड्रामा आधा र ५० किलो कम्पोष्ट मलमा मिसाएर २–३ रोपनीमा मिलाई खेत जोतेर मौसम प्रतिकुल हुने संकेत देखिनासाथ कपरअक्सिक्लोराइड २ ग्राम १ लिटर पानीमा हालेर छर्ने तथा रोग लागेका बोट तुरुन्तै हटाउनुपर्ने कृषि विशेषज्ञले बताए।

Leave a Reply