---Advertisement---

अयोध्याका लागि यसरी बिदाई गरियो कालिगण्डकीको शिला

On: January 26, 2023 11:42 AM
Follow Us:

भारतको अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा राखिने भगवान श्रीरामको मुर्ति बनाउनका लागि कालिगण्डकी नदीबाट निकालिएको शिला बिहिबार पूजाआजा सहित गलेश्वरधाम हुदै बेनीबजारमा शोभा यात्रा गरी विदाई गरिएको छ । विभिन्न धार्मिक संघसंस्था सहित उत्साजनक उपस्थितीमा पोखरा पठाइएको छ ।

भारतको उत्तर प्रदेशमा पर्ने फैजावाद जिल्लाको अयोध्यामा निर्माणाधिन राममन्दिरमा राखिने प्रतिमामा प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम क्षेत्रमा पर्ने कालिगण्डकी नदी किनारको शिला क्रेनमार्फत निकाली श्रीपञ्चमीको दिन शिलाको विशेष पूजाआजा गरी जनकपुरधाम हुँदै अयोध्या पठाएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । ‘धार्मिक प्रर्वधनका लागि यो कोशेढुंगा सावित हुनेछ,‘छनौटदेखि उत्खनन्सम्म हामीले निरन्तर सहयोग गरेका छौ’ मेयर केसीले भने ।

शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दुहरूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा भगवान श्रीरामको बालरुपको मुर्ति निर्माण गर्ने तय भैसकेको मेयर केसीको भनाई छ। शिला उत्खनन् गरेको स्थानलाई डिपिआर सहित थप भौतिक संरचना तयार गरी अगाडी बढ्ने बताए ।

गत आइतवार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक बिधिअनुसार क्षमापुजा र गंगा पुजन गरेर शिला जनकपुर मन्दिरका पिठाधीस राम तपश्वेर दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतिक स्वरुप तीनवटा शालिग्राम हस्तान्तरण गरिएको जलविद् कुलराज चालिसेले बताए । उनका अनुसार शिला प्राविधिक रुपमै करिब १ हजारदेखि ५ हजार बर्षसम्म टिकाउ हुने बताए । करिब एकसातामा नेपाल हुदै अयोध्यासम्म पुग्ने उनले बताए ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार १८ र १६ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका क्वाजराईट र क्याल साइट नाम गरेको शिलालाई धार्मिक संघसंस्था सहित अन्य सरोकारवाला निकायले समेत सहयोग गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताए।‘पैदलमार्ग हुदै भित्रिने भारतीय धार्मिक पर्यटकको संख्या ह्वात्तै बढ्ने अनुमान गरेका छौ,‘ नेपाल र भारतका हिन्दु धर्मालम्बीहरू बिचको सम्बन्ध थप बलियो हुनेछ’ अध्यक्ष रेग्मीले भने ।

नेपाली कांग्रेसका निर्वतमान उपसभापति बिमलेन्द्र निधिले गत साउनमा अयोध्या भ्रमणमा गएका अयोध्याको राममन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्र, श्रीरामजन्मभूमितीर्थ क्षेत्रका महामन्त्री चम्पत राय र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालसँगको भेटमा अयोध्या भ्रमणमा त्यहाँको निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकीमन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने र राममन्दिरमा राखिने रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शालिग्राम शिलाबाट निर्माण गर्ने प्रस्ताव राखेका थिए ।

निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिरको तर्फबाट धनुष राख्ने रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शिलाबाट बनाउने निधिको प्रस्तावमा भारतीय पक्ष सहमत भएपछि नेपालफर्के पछि निधीले नेपाल सरकारलाई भारतीयपक्ष नेपालका दुवै प्रस्तावमा सहमति भएपछि प्रक्रिया अगाडी बढेको थियो ।

कालिगण्डकी नदीमा कालो र सेतो शिला प्रसस्तै पाइन्छ । शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रुपमा पुज्ने गरिन्छ ।शालिग्रामशिलापाइने मुस्ताङ, म्याग्दी र पर्वत खण्डको नदीआसपासमा क्रसर ब्यवसायीको दोहान र सडक विस्तारको क्रममा नदीले लोभ हुने अवस्थामा पुगेको छ । नेपालका प्रमुख हिमनदी मध्ये कालीगण्डकी पनि एक हो ।

हिन्दुहरुको पवित्र तिर्थस्थल दामोदरकुण्ड क्षेत्र (तिब्बतको न्ह्युविन हिमालको ग्लेसियर) बाट उत्पत्ति दामोदरकुण्डबाट आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिएको हो भने लामो दुरी पार गदैं नारायणीमा मिसिन्छ ।

मर्यादा पुरुषोत्तम भगवान रामको जन्मस्थल,भारतीय संस्कृति,शिक्षा र सभ्यताको उद्गम्स्थल र प्राचीन सूर्यबंशी राजाहरुको राजधानी समेत रहेको प्राचीन नगरी अयोध्या हिन्दू सभ्यतालाई संसारभरी चिनाउने गरेको छ । सरयु नदीको तटमा अवस्थित अयोध्या धाम हिन्दुहरूले भगवान् रामको जन्मस्थान भनी विश्वास गरेको पवित्र तीर्थस्थल हो ।

९ नोभेम्बर सन् २०१९ मा सर्वोच्च अदालतले विवादित स्थलमा राममन्दिर निर्माण गर्न बाटो खुलाएको फैसला सुनाएको थियो । सोही फैसला पछि ५ अगस्ट २०२० मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिरको भूमिपूजा गरेर सन् २०२४ भित्र निर्माणकार्य पूरा गरिसक्न निर्देशन दिएका थिए ।

अहिले सोही स्थानमा राम मन्दिर निर्माण भैरहेको अवस्थामा मन्दिरमा कालीगण्डकीको शिलाबाट निर्माण गरेर भगवान श्रीरामको बाल वयको मुर्ति राखिने छ। मन्दिरमा निर्माण गरिने श्रीरामको बाल बयको मूर्ती आसपासमा म्याग्दीको कालिगण्डकी नदीका बारेमा समेत प्रचारप्रसार गरिने सहमति समेत भएको छ ।