उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी–गलेश्वर सडक कालोपत्रको काम सुरु भएको छ। कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजनाभित्र पर्ने म्याग्दीको सदरमुकाम बेनीदेखि प्रवित्र धार्मिकस्थल गलेश्वरसम्मको सडक कालोपत्रसहित स्तरोन्नतिका लागि ठेक्का लिएको जय धन्नजय÷मंगलादेवी सुवास कन्ट्रक्सन प्रालि कार्यक्षेत्रमा परिचालन भएको हो ।

सडकखण्डमा कालोपत्रेका लागि १२ करोड ७५ लाख ९४ हजार ४३६ मा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । गत पुस १७ मा भएको ठेक्का सम्झौताको काम २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीका अनुसार, समयमै काम सम्पन्न गर्न आवश्यक जनशक्ति कार्यक्षेत्रमा परिचालन गरिएको छ ।

सडक निर्माणमा आयोजना, स्थानीय तह र समुदायबाट रचनात्मक साथ दिएर उपयुक्त वातावरण तयार भए तोकिएको समय अगावै कामसक्ने उहाँको भनाई छ । यसै सातादेखि निर्माण सुरु गरेको कम्पनीले जलेश्वरमा सडकको पर्खाल निर्माणको काम थालेको छ ।

सडकलाई फराकिलो बनाउने, खोलाखोल्सामा कल्भर्ट निर्माण गर्ने, आरसिसी पर्खाल निर्माण गरी नाली तयार गरेर बेससहित आठ मिटर चौडाइ कालोपत्रे गरिने भएको छ । सडक स्तरोन्नति समयमै सम्पन्न भएमा बेनी नगरपालिकासहित रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ घुम्न आउने पर्यटकलाई समेत राहत मिल्नेछ ।

सडक स्तरोन्नतिमा सम्झौता अनुसारको काम गुणस्तरीय र समयमै कालोपत्रे काम सम्पन्न गराउनका लागि आयोजनाले प्रभावकारी रुपमा अनुगमन, निरीक्षण र समन्वय गर्नेे बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख जगत प्रजापतिले बताए ।

Leave a Reply