बेनी र बागलुङको बिचमा छ रत्नेचौर गाउँ । म्याग्दीको बेनी नगरपालिका वडा नं १ मा पर्ने यो गाउँ भूपि शेरचन राजमार्गको सुविधा सम्पन्न गाउँ हो । उत्तरतिर हेर्दा चाँदी झैँ टल्किने सेता हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्कै परेको कालोपत्रे सडकमा रमाउन यहाँ यो सिजनमा आन्तरिक पर्यटकहरुको भीड लागेको छ ।

पहेलै फुलेको तारीको विचविचमा हुर्कदै गरेको गहुँको हरियालीले यहाँ आउने सबैको ध्यान खिचेको छ । तोरी फुलेको खेतको फाँटमा कालोपत्र गरिएको चिल्लो सडक मानिसहरुको भीडभाडले भाइरल बनेको छ । रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ ।झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारणहरु टिकटक बनाउन, नाच्दै रमाउन व्यस्त छन् ।

रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्डअन्तर्गत ९०० मिटरको कालोपत्र सडकको दायाँ र बायाँतर्फ लमतन्तै परेको खेतको फाँटमा फुलेको तोरी, खुलेको हिमाल र चिल्लो सडकलाई पृष्ठभूमीमा पारेर फोटो खिचाउन र टिकटक बनाउन यहाँ दैनिक सयौं पर्यटकहरु आउनेगरेको स्थानीयवासी समेत रहनुभएका भानुमाध्यमिक विद्यालयका प्रधानाध्यापक भरत खत्रीले बताउनुभयो ।

केही वर्ष अगाडिसम्म सुनसान रत्नेचौरको सडक कालोपत्रे भएपछि तोरीबारीमा बसेर फोटो, भिडियो खिच्न विभिन्न स्थानबाट सवारीसाधनको प्रयोग गरी आउने गरेका छन् । शुक्रबार, शनिबार र सार्वजनिक बिदा भएमा अन्य दिनमा बढी भिड लाग्ने गरेको छ । म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रबाट एकैपटक घुम्न आउनेहरूको भीड व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्ने गरेको छ ।

तोरी उत्पादन हुने सिजनबाहेक पनि कालोपत्र सडकमा तस्बिर, भिडियो खिचेर सामाजिक सञ्जाल तथा टिकटकमा राख्ने मानिसहरू मोटरसाइकल र गाडी चढेरै आउने गरेका छन् । चारैतिर हरियाली पहाड, उत्तरतर्फ मुसुक्क मुस्कुराइरहेको संसारकै सातौँ अग्लो धौलागिरि हिमालको दृश्यसँगै समथर फाँटको पहेँलपुर तोरीले स्थानीयवासीको व्यापारमा समेत सघाएको छ ।रत्नेचौरमा यस वर्षदेखि अर्को आकर्षण पनि थपिएको छ ।

म्याग्दीको रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने ३ सय ८८ मिटर लामो झोलुंगे पुलमा रमाउन पनि यहाँ दैनिक दुई सय भन्दा बढी व्यक्तिहरु आउने गरेका वडा अध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । ‘पुलमा खेल्न, तोरीमा रमाउन र वनभोज खानका लागि यहाँ बागलुङ,म्याग्दी र पर्वतका समेत मानिसहरु आउन थालेपछि थामिनसक्नुको भीड हुने गरेको छ’ थापाले बताउनु भयो । तोरीबारीमा गएर फोटो र भिडियो खिच्दा क्षति हुने भएकाले धेरैले सडक आसपासबाटै खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् ।

Leave a Reply