गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जालीलाई शनिबार म्याग्दीका विभिन्न संघ संस्थाले सम्मान र बधाई ज्ञापन गरेका छन् ।
म्याग्दी उद्योग वाणिज्य संघ, तातोपानी कुण्ड व्यवस्थापन समिति, मंगला र मालिका गाउँपालिका लगायतले मन्त्री जुग्जालीलाई सम्मान, स्वागत तथा बधाई ज्ञापन गरेका हुन् । म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित जुग्जाली सहित प्रदेश सभा क्षेत्र (क)बाट निर्वाचित हरिबहादुर भण्डारी र समानुपातितर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित बिमला गौचनलाई बेनीको म्याग्दी बहुमुखी क्याम्पसले सम्मान तथा बधाई ज्ञापन गरेको थियो ।
बधाई तथा सम्मान कार्यक्रम आयोजकले राष्ट्रिय योजना आयोग र प्रदेशको पर्यटन मन्त्रालयको नेतृत्वमा म्याग्देली पुग्नुलाई अवसरका रुपमा लिएर जिल्लाको विकास र रुपान्तरणमा परिचालन गर्नुपर्ने अपेक्षा गरेको बताएका थिए ।
मन्त्री जुग्जाली, सांसद भण्डारी र गौचनले पनि स्थानीय तह र संघीय प्रतिनिधि, निजी क्षेत्र, राजनीतिक दल र अगुवाहरुसँग समन्वय गरेर म्याग्दीलाई रुपान्तरण र परिवर्तन गर्ने अभियानमा केन्द्रित भएको बताउनुभएको थियो ।
मन्त्री नियुक्त भएपछि गृह जिल्ला म्याग्दी आउनुभएका जुग्जालीले शनिबार विभिन्न ठाउँमा भएको कार्यक्रममा सिर्जना भइसकेको दायीत्व पुरा नगरेसम्म प्रद्रेश सरकारलाई नयाँ कार्यक्रम र योजना बनाउन अप्ठ्यारो परेको बताउनुभयो ।
“रु. तीस अर्बको हाराहारीमा पुँजिगत भएको गण्डकीमा यसअघिका सरकारले ठेक्का लगाएका र शुरु गरेका आयोजनामा सिर्जना भएको रु. १३ अर्ब ५० करोडको वित्तीय दायीत्वले अप्ठ्यारो पारेको छ,” उहाँले भन्नुभयो “शुरु गरेका कार्यक्रम र ठेक्का लागिसकेका योजनालाई पूर्णता दिन प्रदेश सरकारले जोड दिएको छ । सिर्जना भएको वित्तीय दायित्व पुरा भएपछि नयाँ कार्यक्रम र योजना ल्याउने छलफलमा छौ ।”
मन्त्री जुग्जालीले गण्डकी प्रदेशको सम्बृद्धिको प्रमुख आधार घोषणा भएको पर्यटनसँग सम्बन्धित मन्त्रालयमा कुल बजेटको चार प्रतिशत मात्र बजेट भएकाले लगानी बढाउन पहल गर्ने बताउनुभयो । वन र वातावरणको संरक्षणसँगै उपयोग मार्फत रोजगारी सिर्जना र नागरिकले लाभ लिने किसिमको नीतिगत व्यवस्थामा जोड दिने प्रतिवद्धता जनाउनुभयो ।
प्रदेशको औचित्य पुष्टि गराउन प्रभावकारी काम र व्यवभार घटाउन मन्त्रालयको संख्या १२ बाट घटाएर ७ बनाइएको जुग्जालीले बताउनुभयो । म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्बाचित जुग्जालीलाई नेकपा माओवादी केन्द्रको जिल्ला कमिटि, तातोपानी कुण्ड व्यवस्थापन समिति, म्याग्दी उद्योग वाणिज्य संघ, म्याग्दी उद्योग वाणिज्य, मंगला र मालिका गाउँपालिकाले स्वागत तथा बधाई ज्ञापन गरेका थिए । यसअघि मन्त्री जुग्जालीलाई नेकपा माओवादी केन्द्र म्याग्दीले पार्टी कार्यालयमा बधाई ज्ञापन गरेको थियो ।
मन्त्री जुग्जालीले मालिका र मंगला गाउँपालिकाले आयोजना गरेका राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताका बिजयी खेलाडीहरुलाई मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । यसैगरी मंगला, मालिका गाउँपालिकाका सहिद परिवार, मतदाता र अगुवाहरुसँग भेटघाट गर्नुभएको थियो ।

Leave a Reply