शालिग्राम शिला पाइने पवित्र नदी कालीगण्डकी क्षेत्रमा मानवीय लापरबाही र जलवायु परिवर्तनका कारण जलचर र जैविक विविधता नासिन थालेको छ।

बाढी पहिरो र अनियन्त्रित रूपमा जथाभावी नदीदोहनका कारण  म्याग्दीका म्याग्दीका नदीबाट जलचरप्राणी लोप हुँदै जान थालेका छन् भने जैविक विविधतामा समेत ह्रास आएको छ।

प्राकृतिक र मानवीय कारणले जलसम्पदा नासिदै र प्रदूषित हुँदै जान थालेपछि जलचर प्राणीहरुको अस्तित्व नै खतरामा परेको पाइएको छ। कालीगण्डकी नदीबाट शालिग्राम लोप हुँदै गएको छ भने यहाँ पाइने असला माछा,चेपागाँडा,भुरा,गंगटो आदि हराउँदै गएका छन्।

जथाभावी भइरहेको नदीदोहन, फोहरमौला विर्सजन तथा बाढी पहिरोका कारण कालीगण्डकी, म्याग्दी नदी र रघुगंगा नदीबाट जलचर प्राणी नासिनुका  साथै यस क्षेत्रको जैविक विविधता खल्बलिदै गएको वन तथा वातावरण क्षेत्रका जानकार चन्द्रमणि सापकोटाले बताए।

विगत ५ वर्षदेखि यी जलाधार क्षेत्रमा गएको पहिरो, बाढी र अत्यधिक मात्रामा भएको नदीहरुको दोहनका कारण यी नदीमा रहेका जलचर लोप हुँदै गएका उनको भनाइ छ। भगवान विष्णुको प्रतिक मानेर पुजिने बहुमूल्य शिला शालिग्राम र जलचर प्राणीको वासस्थान मानिएको कालीगण्डकी नदीको नारच्याङ क्षेत्रदेखि सदरमुकाम बेनी सम्मको क्षेत्रमा जलचर प्राणीको अस्तित्व लोप हुँदै गएको पाइएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा निर्माणाधिन जलविद्युत अयोजनाका कारण पानीको प्राकृतिक गुणमा परिवर्तन भै वातावरणीय असन्तुलन हुन थालेपछि जलचरको अस्तित्व संकटमा परेको सरोकारवाला बताउँछन्।

नारच्याङ जलचर र जंगली जनावरको वासस्थानका लागि अत्यन्त अनुकुल स्थान भएको ठाउँ भनेर चिनिन्छ। पछिल्लो समय यहाँका नदीबाट विद्युत आयोजना निर्माण गर्ने होडबाजी नै चलेकाले यहाँका जलचर संकटमा परेका नारच्याङमा निर्माणाधिन मिस्त्रीखोला जलविद्युत आयोजनाको वातावरण एकाइमा कार्यरत शिव पुर्जाले बताए।

नारच्याङमा १५७ मेगावाटका पाँच जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्। निर्माणाधिन अवस्थामा रहेका ती जलविद्युत आयोजनाका स्रोत भनेका यहाँ रहेका नदी नै हुन्। त्यसैगरी बाढी पहिरो र नदीजन्य वस्तुको अप्राकृतिक उत्खनन् पनि जलचर नासिनुका मुख्य कारण रहेको वातावरण संरक्षणकर्मी बताउँछन्।

म्याग्दी नदी,कालीगण्डकी र रघुगंगा क्षेत्रमा गएका पहिरो र पहिरोसँगै विभिन्न स्थानबाट आएको बाढीले नदीको जलचक्र प्रणाली नै खल्बलाइदिएको छ। यसका कारण जलचरको वासस्थान नास हुँदा उनीहरु लोप हुने अवस्थामा पुगेका वातावरण संरक्षणकर्मी ईश्वरी सिग्देलले बताए। उनका अनुसार नदीमा आउने बाढीले नदी धमिल्याएर आहाराको अभाव गराइ दिने मात्र होइन त्यसले जलचरको अनुकुलन अवस्थालाई पनि क्षति पुर्‍याइ दिने भएकाले त्यस ठाउँमा रहनसक्ने अवस्था नभएपछि जलचर तल–तल सर्दै जान्छन्।

मानवीय अतिक्रमण र प्राकृतिक सम्पदाको दोहन पनि जलचर प्राणी नासिँदै जानुको अर्को कारण हो। म्याग्दीका तीनवटै जलाधार क्षेत्रमा नदीजन्य वस्तुको चोरी निकासी बढेको छ। नदीमा डोजर र स्काभेटरजस्ता भारी साधनहरु प्रयोग गरेर  जथाभावी नदीजन्य वस्तु निकाल्दा त्यसको असर जलचर प्राणीमा पनि परेको र उनीहरू नासिँदै गएका वातावरण संरक्षणकर्मीको भनाइ छ।

त्यसैगरी बजार तथा ग्रामीण क्षेत्रको फोहोर विर्सजन गर्ने ठाउँ नदी नै बन्ने गरेका छन्। नदीमा फोहोर विर्सजन गर्दा रासायनिक तत्त्वको प्रभावले जलचर प्राणीको अस्तित्व जोखिममा परेको छ।

Leave a Reply