म्याग्दीको बेनी नगरपालिकामा आइतबारेदेखि वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बेनी नगरपालिकाबाट अभियान शुरु भएको मेयर सुरत केसीले बताए ।

नगरपालिकाको १० वटै वडामा एकै पटक परिचयपत्र दर्ताका लागि घुम्ति शिविर सञ्चालन सुरु भएको हो । ‘एक वटा वडामा दुई वटा स्टेशन छ, पहिला दिन उत्साहजनक सहभागिता छ’ नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठले भने । उनका अनुसार बेनीबजारमा रहेका २ वडामा पहिलोदिन कम भिडभाड भएपनि ग्रामिण क्षेत्रमा दर्ता शिविरमा भिड रहेको बताए ।


एक वटा स्टेशनमा कम्तिमा १५ दिन टोलीले जैविक र व्यक्तिगत विवरण दर्ता गर्ने समय तालिका बनाइएको छ । बेनी नगरपालिका सकिएपछि गाउँपालिकामा टोली खटिने प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए ।

परिचयपत्रमा व्यक्तिगत विवरणहरू नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति पत्नीको नाम, बाजेको नाम औँला छाप व्यक्तिगत विवरण समावेश गरिएको हुन्छ । सोह्र वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले नेपाली उक्त परिचयपत्र लिने सक्ने व्यवस्था रहेको छ ।

व्यक्तिका वैयक्तिक र जैविक सूचनालार्ई आधिकारिक रूपमा सङ्कलन गरी प्रत्येक नागरिकलार्ई एकअर्कासँग मेल नखाने परिचय नं दिई बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरण गर्ने उद्देश्य रहेको छ । नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र राष्ट्रिय परिचयपत्र हो ।

विभागले विभिन्न १३ किमिसमका सामग्री सहित २० जना जनशक्तिलाई घुम्ती टोलीका लागि आएका छन् । सक्कल नागरिकता, विवाहितको हकमा सक्कल विवाहदर्ता वा नाता खुल्ले सक्कल सरकारी परिचयपत्र सहित सस्टेशनमा सम्पर्क गर्न सार्वजनिक सूचना समेत जारी गरिएको छ । हालसम्म जिल्ला प्रशासन कार्यालयमा मात्र राष्ट्रिय परिचयपत्र दर्ता हुदै आएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा राष्ट्रिय परिचयपत्र दर्ताको लागि अनलाइन टाइम कार्ड लागू गरिएको र १ वटा स्टेशन थपेर सेवालाई छिटो तथा सहज बनाउन पहल गरिएको छ ।

Leave a Reply