एक सय पैँतिस बर्ष अगाडी निर्माण गरिएको म्याग्दीको बेनी नगरपालिका–७, मंगलाघाटमा म्याग्दी नदीमाथिको झोलुङ्गे पुलको मर्मत गरिने भएको छ।  नेपालकै पुरानो दाबी गरिएको ऐतिहासिक पुलको स्वरूपमा केही परिवर्तन नगरी पुरानो लठ्ठालाई समेत राखेर मर्मत गरिने भएको हो।

बेनी नगरपालिको पहलमा प्रदेश सरकारको झोलुङे पुल सुधार कार्यक्रममार्फत चालु आवभित्रै सम्पन्न गर्ने गरी मर्मतको कार्य अगाडी बढाइएको बेनी नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए।

‘पुरानै स्वरूपमा मर्मत गरिने छ,‘पुलमा काठका फट्टा कुहिएको अवस्थामा सामान्य मर्मत गरिएको छ’ वडा अध्यक्ष श्रेष्ठले भने।

बेनी नगरपालिकाले गैरसरकारी संस्था मिलन म्याग्दीमार्फत मर्मत गर्न उपभोक्ता समिति समेत गठन गरेको बताए। पुल मर्मतमा करिब ४२ लाखको अनुमानित लागत तयार भएको छ। जिल्लाकै ग्रामीण क्षेत्रको खानीबाट निकालिएको काँचो फलामलाई गोलमा तताएर, कुटेर साङ्ले लठालाई भने मर्मतको क्रममा संरक्षण गरिने छ भने अन्य पूर्वाधारहरू आवश्यकता अनुसार थप गरिने सव इन्जिनियर दयाराम शाहले बताए।

‘पुरानो शैलीमा मर्मत गरिन्छ, यो पुल नेपालकै पुरानो भएकाले संरक्षण आवश्यकता थियो’ उनले भने।

विसं १९४४ मा निर्माण गरिएको पाति चढाउने डिल र मंगलाघाट जोड्ने झोलुङ्गे पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम समेत बढेको अवस्थामा स्थानीयले समेत मर्मतमा चासो देखाएका थिए। बागलुङको गलकोटका स्व.लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुम गाउँका स्थानीयवासीको पुलमा काम गर्ने सीपलाई प्रयोग गरी सो पुल बनाएका थिए।

तत्कालीन समयमा माथि र तल गरी दुईवटा साङ्ले लठामा फलामको पाता राखेर एउटा काठको फल्याक मात्रै राखेर वारपार गर्ने झोलुङ्गे बनाइएको स्थानीय अगुवा एवं ज्येष्ठ नागरिक समाज म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठले बताए।

उनले कुनै जमानामा म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाटमा म्याग्दी नदीमाथि निर्मित झोलुङ्गे पुल, म्याग्दी र मुस्ताङका दुर्गम बस्तीबाट हप्ता दिन पैदल हिँडेर नेपालका विभिन्न स्थान र भारतसम्म आवत–जावतका लागि प्रयोग हुने गरेको सुनाए।

पुलमा प्रयोग भएको साङ्ले लठा सोही समयमा स्थानीय स्रोत र सीपलाई प्रयोग गरी बनाइएका हुन्। गाउँ गाउँबाट श्रमदान गर्न ठुलो संख्यामा आएकाहरूबाट खुल्ला आकाशमा भोक भोकै काम गरेको समेत उनले बताए। सडक सञ्जालको विस्तारसँगै ‘दुर्भाग्य, खोला तर्‍यो, लौरो बिर्सियो’ भनेजस्तै अहिले जीर्ण र प्रयोगविहीन भएकाले नयाँ पुस्तालाई समेत पुलको महत्त्वका बारेमा जानकारी दिन मर्मत आवश्यकता रहेको उनले भनाइ छ।

विसं २०१४ मा म्याग्दीको बाबिया चौरमा बसोबास गर्ने पुलका निर्माणकर्ता शेरचनका नाति भीमप्रसाद शेरचनका दाजुभाइको पहलमा झोलुङ्गेलाई हटाएर झोलुङ्गे पुलको रुपमा विकास गरिएको थियो।

पुरानो र ऐतिहासिक महत्त्व बोकेको यो पुलको काठ कुहिएको र जालीसमेत तितरबितर हुन थालेपछि स्थानीयले धेरै पटक देउसी भैलो सहित विभिन्न माध्यमबाट समेत मर्मत गरेका छन्।झोलुङे पुलको पुरानो शैलीलाई यथावत् राखेर जिल्लाकै पहिलो तथा पुरानो पुलको स्वरूप नबिग्रने गरी मर्मत र संरक्षण गरिने स्थानीय युवा सुमन श्रेष्ठले बताए।

Leave a Reply