म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङकी मनसरा कुमाई एक बर्षकी छोरी ढाडमै बोकेर गाउँ जोड्ने सडक खन्न ब्यस्त हुनुहुन्छ । म्याग्दी जिल्लाको विकट बस्ती मानिने लुलाङमा सडक पु¥याउन काममा जुटेकी मनसराले दैनिकजसो श्रमदानमा छोरी बोकेर आउनुहुन्छ । मनसराका श्रीमान पृथु विक बैदेशिक रोजगारको सिलसिलामा ६ महिना अगाडी खाडीमुलुक साउदी अरवमा पुगेपछि मनसरा जनश्रमदानका धाउनुपरेको छ ।

पिठ्युँमा र काखमा बच्चा च्यापेर काममा निस्कनु बाध्यताजस्तै बनेपनि मनसरा गाउँमा सडक पुगेको हेर्न आतुर हुनुहुन्छ । मनसराजस्तै लुलाङकी रिता कुमाईले पनि २ बर्षिया छोरीलाई बोकेरै दैनिक श्रमदानमा जुट्नुहुन्छ । सडक निर्माण उपभोक्ता समितिकी सदस्य समेत भएकाले दैनिकजसो आउनुपर्छ । श्रमदानमा आमा तल्लीन हुँदा बच्चा भने निदाएका थिए भने केहीले खेतको बारीमा डोकोमा बच्चा राखेको दृष्य देखिन्थ्यो ।

म्याग्दीमा सबैभन्दा ठूलो दलित बस्ती लुलाङका साढे दुई सय घरधुरीबाट सडक खन्न दैनिक श्रमदान गदै गरेको दृष्यले जनसहभागीताको उदाहरण प्रस्तुत गरिरहेको छ । सामान ढुवानी, सुत्केरी हुदाँ डोकोमा बोकेर लैजानुपर्ने लगायतका धेरै बाध्यता सडक गाउँमा पुगेपछि समाधान हुने भएकाले दैनिक मजेत्रो र डोकोमा छोरी बोकेर श्रमदानमा निस्किएका महिलाहरु निकै उत्साहिन छन् ।

श्रमदान गर्नेमा धेरै महिलाहरु हुनुहुन्छ,‘हामीले सडक नहुदाँ भोकेको समस्या सन्तानलाई नपरोस् भनेर नै काम गरिरहेका छन् । बस्तीमाथिबाट सडक विस्तार गर्नुपर्ने बाध्यताका कारण स्थानीयले औजारको प्रयोग गरी सडक खन्नुपर्ने भएकाले गाउँले श्रमदानमा जुटेका महिलाहरुले जोखिमपूर्ण काममा समेत उत्साहित भएको देखिन्छ ।

गाउँपालिका र प्रदेश सरकारको बजेटबाट निर्माणधिन सडकमा सबैलाई सहभागी गराउने उद्देश्यसहित एक दिन अनिवार्य श्रमदान’ गर्नुपर्ने नियम बनाएपछि यूवाहरू समेत श्रमदानमा जुटेका छन् । औजारले भिर खन्दै गरेका महिलाले गर्भवती अवस्थामा गाउँसम्म सडक नहुदाँ भोग्नुपरेको सास्ती सम्झिएर काम गरेको र आवश्यकता परे निरन्तर श्रमदान गर्न सक्ने रिता कुमाईको भनाई छ ।

जनश्रमदानमा देखिएका महिलाहरुको कामले पुरुष समेत उत्साहित छन् । ढुंगा ओसार्नेदेखि गैची खन्नेसम्मको काम महिलाले गर्न थालेपछि श्रमदानमा पुगेका यूवा र पुरुष समेत दंग छन् । धवलागिरिको वडा नं १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडकअन्तर्गत पर्ने खोरिया भन्ने बस्ती माथि डोजर प्रयोग गर्दा बस्ती नै जोखिममा पर्ने भएकाले स्थानीयले श्रमदान गरेको सडक निर्माण उपभोक्ता समितिका सचिव ज्ञानबहादुर पाईजाले बताउनुभयो ।

पूर्वाधार विकास कार्यालयले दरवाङ–बिम–भारबाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडक आयोजना अन्तर्गत सडकखण्डको सबैभन्दा जोखिम मानिएको महतला भिरमा सडक निर्माणका २ बर्ष लगाएको थियो । लुलाङसम्म सडक पु¥याउन चन्दा संकलनलाई कम प्राथमिकता दिएर श्रमदानमा जोड दिएको बताए।लुलाङका अधिकांस दलितको आर्थिक अवस्था कमजोर भएकाले श्रमदानमा जोड दिएको लुलाङका वडा अध्यक्ष अकबहादुर बिकले बताउनुभयो ।

सडक विस्तारको क्रममा बस्तीमाथि हेभी इक्युमेन्ट प्रयोग गर्दा स्थानीयको अवरोध हुने भएकाले सडक विस्तरामा आवश्यक पर्ने औजार खरिद गरिएको छ । महतलाको भिर थिचोलेपछि सडक निर्माणले गति लिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले बताउनुभयो । यसबर्ष गाउँपालिकाले ४५ लाख र प्रदेश सरकारबाट ८० लाख बजेट विनियोजन गरिएको छ ।

 

Leave a Reply