j}zfv !& k/Dk/fut 9'ªu] 3/sf] ufpF DofUbLsf] wjnflu/L ufpFkflnsf–# d'gfdf k/Dk/fut 9'ªu] 3/x?n] l6l6Ss k/]sf] ufpF . t:jL/M sdn vqL, /f;;, a]gL -DofUbL _

ढुंगा र खरले छाएर रातोमाटो र सेतो कमेरोले पोतिएका चिटिक्कका घर। फराकिलो आँगन। करेसाबारीमा थरीथरीका तरकारी। घर नजिकै अमिलो, अम्बा, कागती र सुन्तलाका बोट। गाउँको यो परम्परागत दृश्य हिजोआज हराउँदै गएको छ।

ग्रामीण क्षेत्रमा यातायातको पहुँच र रेमिट्यान्सबाट प्राप्त आम्दानीका कारण कंक्रिटका पक्की भवन निर्माण हुने क्रम बढ्दै गएपछि परम्परागत ढुंगे घर पातलिंदै जान थालेका छन् भने  खरले छाएका घर लोप भएका छन्।

डेढ दशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा ढुंगा र खरले छाएर रातो माटो र सेतो कमेरोले पोतिएका घर बाक्लै देखिन्थे। पर्यटकीय जिल्ला म्याग्दीमा विदेश र शहर बजारबाट जोहोकोही गाउँमा पुग्दा ती घरले मनै लोभ्याउने गर्थे।

रैथाने सीप र स्रोतको प्रयोग गरी परम्परागत रूपबाट निर्माण गरिएका ती घरले धेरैलाई आकर्षित गर्ने गरेको पाइन्थ्यो। उतिबेला गाउँमा यातायातको पहुँच पुगिसकेको थिएन। जब सडक विस्तार भएर गाउँमा यातायातका साधन पुग्न थाले तब रड र सिमेन्टको प्रयोग गरी गाउँमा पक्की घर निर्माणको क्रम बढेको स्थानीय बूढापाकाको भनाइ छ।

बेनी नगरपालिका-२ बगरफाँट, मालिका गाउँपालिका-७ विम, रघुगंगा गाउँपालिका-६ पाखापानी लगायतका विभिन्न बस्तीमा पाँच वर्ष अगाडिसम्म गाउँका अधिकांश घर ढुंगा र केही खरले छाइएका थिए। अहिले ती बस्तीमा पुग्यो भने सिमेन्टेड पक्की घर र विभिन्न रंगका जस्तापाताले छाएका घर रंगीचंगी देखिन्छन्। कमेरो र रातो माटोले पोतिएका घर कम पाइन्छ।

गाउँमा सडक आएपछि गाउँलेले शहर बजारियाले जस्तो सिकेर परम्परागत घर भत्काएर नयाँ स्वरूपमा बनाउन थालेको बगरफाँटका वेदप्रसाद उपाध्यायले बताए। उपाध्यायले भने, ‘डेढ दशक अगाडिसम्म गाउँमा धेरैजसो घर ढुंगा र खरले छाएका थिए, गाडी आउने बाटो थिएन, अहिले ती सबै घर लोप भइसके।’

बेनी नगरपालिका-४ सिङ्गामा पनि करिब एक दशक अगाडिसम्म ढुंगे घर टन्नै थिए। अहिले ढुंगाका घरले भएका ठाउँहरूमा ठूलाठूला कंक्रिटका घर ठडिएका छन्। सडक सिङ्गामा नपुग्दा धेरैको घर ढुंगाले नै छाएको भए पनि अहिले धेरैजसोले पक्की भवन बनाउन थालेको स्थानीय केशव पौडेलले बताए।

उनले गाउँमा सडक आएपछि धेरै मानिसले बजारबाट सहज रूपमा घर निर्माण गर्ने सामान ल्याउन सक्ने भएपछि ठूलाठूला भवन बनाउन थालेको बताए। पौडेलले यहाँका धेरैजसो मानिस विदेश भएको हुँदा उनीहरूले गाउँमा परम्परागत घर र ढुंगाको घर विस्थापित गरी पक्की घर बनाउन थालेको बताए।

विदेशमा कमाएको पैसा म्याग्दीमा धेरैजसो अनुत्पादक क्षेत्रमा नै खर्च हुने गरेको बैंक तथा वित्तीय संस्थाको तथ्यांक छ। शहरी तथा भवन निर्माण आयोजना कार्यालय म्याग्दीका अनुसार मानिस सजग र सचेत हुँदै गएको हुँदा नयाँनयाँ प्रविधि प्रयोग गरेर घर तथा भवन निर्माण गर्न थालेका छन्। परम्परागत घर भूकम्पीय दृष्टिकोणले केही जोखिम हुने भन्दै नागरिकले सचेतता अपनाएर पक्की भवन बनाउन थालेको बताइएको छ। रासस

Leave a Reply