बेनी नगरपालिका–१,रत्नेचौरकी ८६ वर्षीया जसिकला कार्कीले घरमै सामाजिक सुरक्षा भत्ता पाईन् ।उमेर बढेसँगै विभिन्न रोगले च्याप्दै गएपछि नियमित रुपमा तीन थरी औषधी प्रयोग गर्दै आएकी जसिकला सुतेकै ठाउँमा पुगेर वडा अध्यक्ष टेकबहादुर थापासहित वडा सदस्यहरु र कृषि विकास बैंकका प्रतिनिधिहरु भत्ता वितरण गरे ।

भत्ताका लागि बैंकसम्म लैजाने अवस्था नभएकाले घरमै पुगेर तीन महिनाको मासिक चारहजार रुपैयाँका दरले १२ हजारको चेक बनाएर बुझाइएको थियो । बेनी नगरपालिकाले शारिरीक रुपमा अति अशक्त, अपाङ्गता भएका लाभग्राही, वारिसे नभएका तथा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घरमै पुगेर भत्ता वितरण गर्दा लाभग्राहीलाई सहज भएको छ ।

नगरपालिकाले आफ्नो सबै वडामा बैंक, वडा कार्यालय र पायक पर्ने स्थानमा आउन नसक्नेलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । ‘भत्ताको रकम लिन जाँदा बाटोमै सकिन्छ, घरमै आएर दिदाँ सबै बचत हुन्छ, उपचारमा पनि खर्च गर्न सजिलो हुन्छ’ जसिकलाकी जेठी बुहारी धनकुमारी कार्कीले भनिन् ।

उनले भत्ता वितरण गर्न घरमै आउँदा गाउँमा जनप्रतिनिधि हुदाँको सबैभन्दा सहज महसुस हुने गरेको बताईन् । उनले भत्ता वितरणलाई निरन्तरता दिन समेत अनुरोध गरिन् । चालु आर्थिक वर्ष २०७९÷०८० को दोस्रो त्रैमासिक अन्तर्गतको सामाजिक सुरक्षा भत्ता लिन वडा कार्यालय र पायक पर्ने स्थानसम्म आउन नसक्नेलाई घरमै पुगेर वितरण गरिएको वडा अध्यक्ष टेकबहादुर थापाले बताए ।

उनले अशक्त र अपाङ्गबाहेक ज्येष्ठनागरिक तथा अन्य लाभग्राहीलाई सम्बन्धित वडा कार्यालय र पायक पर्ने स्थानसम्म बोलाएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताएपहिला भत्ता लिनका लागि ज्येष्ठनागरिकलाई गाडीमा राखेर बैंकसम्म लैजानुपर्ने बाध्यता रहेकोमा अहिले वडाको पहलमा बेनी नगरपालिकामार्फत बैंकको टोली घरमै पुगेर भत्ता वितरण गर्न थालेपछि सजिलो भएको बताइएको छ ।

रत्नेचौरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने अशक्त र अपाङ्गता भएका व्यक्तिहरु धेरै भएकाले गाउँमै भत्ता वितरणको व्यवस्था मिलाएकोबैंकको शाखा प्रवन्धक शंकरदेव मल्लले बताए। उनले विगतमा वितरणमा आउने गुनासोलाई समेत सम्बोधन गरेको बताए । कृषि विकास बैंक म्याग्दी शाखाले बेनी नगरपालिका–१, रत्नेचौर तथा ७ र ८ नम्बर वडा बेनीबजारमा सामाजिक सुरक्षाभत्ता वितरणको जिम्मेवारी पाएको छ ।

बेनी नगरपालिका–१, रत्नेचौरमा पोषण भत्ता पाउने बालबालिसहित कुल ४ सय २ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेको उनले बताए । सरकारले ज्येष्ठनागरिकलाई बैंकमै खाता खोलेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था गरेपछि भौगोलिक विकटता, शारिरीक रुपमा अशक्ततालगायत विविध कारणले समस्या हुने गरेको छ । वडा र घरदैलोमै पुगेर भत्ता दिने कार्यले समयको बचत, अनावश्यक खर्च समेत जोगिने गरेकाले म्याग्दीका सबै स्थानीय तहले वडास्तरमै पुगेर भत्ता वितरण गर्ने गरेका छन् ।

Leave a Reply