तोरी फुलेर पहेलै भएको छ रत्नेचौरको फाँट। खेतका डिलमा लहरै राखिएका छन् मौरीका घार। म्याग्दीको बेनी नगरपालिका वडा नं १ मा पर्ने रत्नेचौरको फाँट यतिवेला मौरीको चरन र मानिसको भीडले भाइरल बनेको छ।

यही भाइरल तोरी फाँटमा मौरी चराउन व्यस्त छन् म्याग्दीको बेनी नगरपालिका ४ सुर्केमेलाका दिलबहादुर खत्री। उनले रत्नेचौर र छिमेकी जिल्ला बागलुङको कुँडुलेमा रहेको तोरीबारीको छेउमा दिनभर मौरी चराउँछन्।

एक दशकदेखि व्यावसायिक रूपमा मौरीपालन गरेका ४२ वर्षीय खत्री ७० घार मौरी लिएर घुम्ती चरनका लागि रत्नेचौरको तोरीबारीमा आएका छन्। पहेँलै फुलेको तोरीबारी आसपासका क्षेत्रमा मौरीको ताँती देखिन्छ। ‘मौसम अनुसार आहारा पाइने ठाउँमा मौरीलाई सार्नुपर्छ, मौरीको स्रोत जोगाउन पनि रुचाइएको आहारा र शान्त वातावरण चाहिन्छ’, कृषक क्षेत्रीले भने।

जंगल आसपासका क्षेत्रलाई चरन क्षेत्रको रूपमा प्रयोग गर्दा मह दोब्बर उत्पादन हुनुका साथै  स्वादिलो समेत हुने भएकाले समयानुकूल चरन क्षेत्रको खोजी गर्नुपर्ने उनले बताए। ४२ वर्षीय क्षेत्री २१ वर्षको उमेरमा दुबई पुगेर दुई वर्ष बिताएर फर्किएपछि पुनः मलेसिया गए।

मलेसियामा ३ वर्ष बसेर फर्केर खत्री बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर मौरी पालन गरेका खत्रीले वार्षिक रूपमा मौरी तथा मौरीसहितका घार बिक्री गरेर वार्षिक २० लाखको कारोबार गर्ने बताए। वार्षिक १ क्विन्टल मह उत्पादन हुने र सबै खर्च कटाएर वार्षिक रु. १२ लाखभन्दा बढी आम्दानी हुने उनको भनाइ रहेको छ। उनले महका साथै मौरी सहित र खाली गरी वार्षिक १ सय मौरीका घार पनि विक्री हुने बताए।

प्रतिघार मौरीसहित बिक्री गर्दा ४० प्रतिशत लगानी र ६० प्रतिशत श्रम तथा मुनाफा हुने उनको अनुभव छ। गतवर्ष मौरीसहितको घार विक्रीबाट मात्रै उनले रु. १० लाख आम्दानी भएको जानकारी दिए।यो वर्ष चरन क्षेत्रमा राखेको ७० घार मौरीबाट २५० केजी मह उत्पादन गर्ने अपेक्षा गरेको उनले सुनाए। प्रत्येक घारमा मौरीले तीनदेखि चार केजीसम्म मह उत्पादन गर्दछ। ताजा मह १ हजार रुपैयाँदेखि १५ सय रुपैयाँ प्रतिकेजीका दरले बिक्री हुने गरेको छ।

महका गोला र मौरीसहितको घार, खाली घार, खाली घार भएका कृषकका लागि मौरी मात्रै पनि बिक्री गर्ने गरेको क्षेत्रीको भनाइ छ। कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मूल्यअनुसार मौरीसहित घारको १० हजार, मौरी मात्रै पाँच हजार र खाली घार मात्रै तीन हजार पाँच सयमा बिक्री हुन्छ।

Leave a Reply