म्याग्दीको बेनी वरपर रहेका श्रमको क्षेत्रमा कार्यरत मजदुर महिलाहरु ४१ जनामा नसर्ने रोगको समस्या पहिचान भएको छ। बेनी अस्पताल, स्वास्थ्य कार्यालय म्याग्दी र नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)को संयुक्त आयोजनामा बेनी अस्पतालमा आयोजित नसर्ने रोगको पहिचान र परामर्श शिविरमा सेवा लिने १ सय ९० जना महिलाहरुमध्ये ४१ जनामा रोग पहिचान भएको हो ।

बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर रामु सापकोटाका अनुसार २२ जनामा उच्च रक्तचाप, ७ जनामा व्लड–सुगर (शङ्कास्पद मधुमेह), ८ जनामा पाठेघरको मुखको क्यान्सरको सम्भावना र ४ जनामा पिसावमा सुगर (मधुमेह रोग)को संक्रमणको पहिचान भएको हो । रक्तचापको समस्या देखिएका २२ जना महिलाहरुले अब तुरुन्तै औषधी सेवन सुरु गर्नुपर्ने डाक्टर सापकोटाले बताए ।

पाठेघरको मुखको क्यान्सरको शङ्का लागेका बिरामीहरुलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । १९० जनाले स्वास्थ्य सेवा लिएकोमा १६८ जना महिलाले पाठेघरको मुखको क्यान्सरबारे भिआईए परीक्षण गरिएको थियो । यसैगरी हिँजो (शनिवार) कुल ७४ जना पुरुषको स्वास्थ्य परीक्षण गरिएकोमा २६ जनामा उच्च रक्तचाप, ५ जनामा सुगरको शङ्कास्पद र ४ जना सुगरका बिरामी पहिचान भएका छन् ।

स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले श्रमिक महिलाहरुमा स्वास्थ्य समस्या भए पनि परीक्षण र रोग निदानका लागि प्रयास नगर्ने खालको मानसिकता हुने भएकाले त्यस क्षेत्रमा भएको समस्या पहिचानका लागि शिविर आयोजना गरिएको बताए । श्रमको क्षेत्रमा रहेका महिला तथा पुरुषहरुले आफूमा हुने स्वास्थ्य समस्यालाई सकभर नदेखाउने र जटिल अवस्था पुगेपछि मात्रै अरुले थाहा पाउने हुँदा नसर्ने रोगको पहिचानका लागि शिविर आयोजना गरिएको क्युपेक नेपालका केन्द्रीय सचिव बलादेवी राईले बताइन् ।

Leave a Reply