धवलागिरी गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हेम नमुना आवसीय मावि शिवाङले जितेको छ ।

माघ १९ देखि शिवाङमा शुरु भएको प्रतियोगिता आइतबार सकिएको हो । १३ स्वर्ण, ६ रजत र ४ कास्य पदक जितेको हेम माविले रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद रु. पचास हजार प्राप्त गरेको छ ।

धनजनता मावि फलियागाउँले ६ स्वर्ण, ६ रजत र ४ कास्य पदक जित्दै दोस्रो भएको छ । ३ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेको किसानी चन्द्रकुन्ता मा.वि. धारापानी तेस्रो भएको छ। दोस्रो र तेस्रो हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद क्रमश रु. ३० हजार र २० हजार प्राप्त गरेका गाउँपालिकाको शिक्षा शाखाका प्राबिधिक सहायक ख्यामराज सुवेदीले बताउनुभयो ।

बिजयी खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर, प्रमुख प्रशासकीय अधिकृत धु्रब रिजाल, वडा अध्यक्ष अशोक खत्री, देवेन्द्र रोका लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

११ वटा विद्यालय सहभागि प्रतियोगितामा जनजागृति मावि मल्कवाङ बाहेक सबै विद्यालयले पदक जितेका छन् । छात्र र छात्रा भलिबल र एथलेटिक्स बिधाका २३ वटा इभेन्समा ६९ पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

गुर्जाको जनकल्याण माविले २ स्वर्ण र १ कास्य, लमसुङ मा.वि.ले १ स्वर्ण र १ रजत, धवलागिरी मावि मुनाले १ कास्य, बुद्धी विकास मावि मुद्धीले १ स्वर्ण, २ रजत र ४ कास्य, चन्द्रज्योती मावि खिवाङले २ रजत र ६ कास्य, जनविकास मावि मराङले २ रजत र ३ कास्य, ताकम माविले २ स्वर्ण, ७ रजत र २ कास्य पदक जितेका छन् ।

पालिका स्तरीय प्रतियोगिताबाट उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई जिल्ला स्तरीय प्रतियोगितामा छनौट गरिने भएको छ । जिल्ला, प्रदेश हुदै राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाउनेछन् ।

Leave a Reply