बेनी नगरपालिका-४,सिङ्गास्थित सुर्केमेलाका दिलबहादुर खत्रीले दुई घार किनेर मौरीपालन सुरु गरे । बि.स २०७३ सालमा म्याग्दीकै एक अगुवा कृषकबाट साढे ८ हजार लगानीमा किनेर ल्याएको मौरी धेरै समय बसेन, भागिहाल्यो । केही मौरीलाई जुटाएर पुनः मौरी पालन सुरू गरेका दिलबहादुरले धेरै हन्डर र ठक्कर खाए । सामान्य तालिम, विभिन्न सञ्चारमाध्यमबाट प्राप्त जानकारीबाटै मौरीपालनमा लागेका दिलबहादुरले हिम्मत नहारी र चुनौतीको सामना ६ बर्षमै आफूलाई एक सफल व्यवसायीको रूपमा स्थापित गराइछाडे ।

चराएकै ठाउँबाट भाग्न, मर्ने जस्ता नमिठो अनुभव बटुलेका खत्रीले कृषि ज्ञान केन्द्र र मौरीपालन स्रोत केन्द्र गोदावरीबाट १५ दिने घार निर्माण सहितको तालिम लिएपछि दोस्रो बर्ष १८, तेस्रो बर्ष ३६ घार बनाएकोमा अहिले ३ सय हाराहारीमा मौरीका घार छन् । उनी महसँगै घरमै घार बनाएर मौरीसँगै बेच्छन् ।

म्याग्दीका अगुवा मौरीपालकको परिचय बनाएका खत्रीले आधुनिक र परम्परागत मौरीपालनबाट राम्रो कमाइ गरेका छन्।आधुनिक मौरी घारहरू सहित मौरी, मह र खाली घारबाट बार्षिक २० लाखको कारोबार गर्छन् । उनीसँग परम्परागत मुडे र खोपे घारहरू पनि छन्।‘

मौरीपालनबाट हुने आम्दानीमा सन्तुष्ट छु,‘लगानी कम लाग्ने र आम्दानी हुने भएपनि मेहनतमा हेल्चेक्राई गर्नुहुदैन’ खत्रीले भने । विना अनुभव मौरीपालनमा होमिएको अवस्थामा सरकारी तालिम, विभिन्न स्रोतसाम्रागीले सहज भएको बताए । ‘गुणस्तरीय महलाई बजारको अभाव छैन,‘घरमै ग्राहक आउनुहुन्छ,‘देशैभरी मौरीको सञ्जालमार्फत बिक्री गर्ने गरेको छु’ खत्रीले भने ।

प्रतिघार मौरीसहित बिक्री गर्दा ४० प्रतिशत लगानी र ६० प्रतिशत श्रम तथा मुनाफा हुने उनको अनुभव छ । गतवर्ष मौरीसहितको घार बिक्रीबाट मात्रै उनले १० लाख आम्दानी गरेका थिए ।

ताजा मह एकहजार रुपैयाँदेखि १५ सय रुपैयाँ प्रतिकेजीका दरले बिक्री गर्ने गरेका छन् । सबै खर्च काटेर वार्षिक १४ लाखसम्मको फाइदा हुने गरेको उनले बताए । उनले बार्षिक १ क्विन्टल मह उत्पादनमा अफसिजनमा झण्डै आवश्यकता परेमा चिनी समेत खुवाउन झण्डै ५० हजार खर्च हुने बताए ।

प्रत्येक घारमा मौरीले तीनदेखि चार केजीसम्म मह उत्पादन गर्दछ । ताजा मह एकहजार रुपैयाँदेखि १५ सय रुपैयाँ प्रतिकेजीका दरले बिक्री गर्ने गरेका छन् ।महका गोला र मौरीसहितको घार, खाली घार, खाली घार भएका कृषकका लागि मौरी मात्रै पनि बिक्री गर्ने गरेको उनको भनाई छ । कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मूल्यअनुसार मौरीसहित घारको १० हजार, मौरी मात्रै पाँचहजार र खाली घार मात्रै तीनहजार पाँचसयमा बिक्री हुन्छ ।

४२ वर्षीय खत्रीले २१ वर्षको उमेरमा दुबई पुगेर दुईवर्ष बिताएर फर्किएपछि पुनः मलेसिया पुगेका थिए । उनले मलेसियामा ३ वर्ष बसेर फर्केर खत्री बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर सुन्तला खेती गरेका थिए ।छिमेकी जिल्ला बागलुङको कुँडुलेमा समेत घर बनाएका खत्रीले मौरीजस्तै रसिलो आम्दानीले उत्साहित भएको बताए ।

उनले विभिन्न जिल्लामा घार सहितको मौरी, खाली घार समेत बिक्री गर्न थालेपछि आम्दानी बढेको बताए । आगामी ५ बर्षभित्र ५ सयभन्दा बढी मौरीको घार बनाउने लक्ष्य रहेको बताए । दिलबहादुरले मौरीपालनसँगै सिजनमा सुन्तला बिक्रीबाट मात्रै बार्षिक ८ लाख आम्दानी गर्ने गरेका छन् ।

Leave a Reply