मदिराले घरेलु हिंसा निम्त्याउन थालेपछि सचेतनामुलक अभियान

0
9

जिल्ला प्रहरी कार्यालय म्याग्दीले बढ्दो घरेलु हिंसालाई न्यूनिकरण गर्न सचेतनामुलक अभियानलाई तिब्रता दिएको छ । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सोमबार रघुगंगा गाउँपालिका–३, ठूलाखर्कमा घरेलु हिंसा, कानुनी कारवाही र न्यूनिकरण सहित विभिन्न विषयमा प्र.स.ह. चन्द्रविर थापाले सहजीकरण गर्नुभएको थियो ।

जिल्लामा महिलाहरु घरेलु हिंसाबाट पीडित हुनुको मुख्य कारण मदिरा विक्री वितरण तथा सेवन रहेको विभिन्न संस्घसस्थाको तथ्याङ्क तथा प्रहरीमा परेका उजरीले समेत पुष्टी गरेपछि जिल्ला प्रहरी कार्यालयले सबै इलाका प्रहरी कार्यालयमार्फत प्रहरी चौकीमा अभियान सञ्चालन गर्न निर्देशन गरेको थियो ।

गरिबी, अशिक्षा र मदिरा सेवन गर्ने श्रीमानबाट मदिरा सेवन गरी कुटपिट गर्ने, मानसिक यातना दिने, धम्की तथा डरत्रास दिने जस्ता गतिविधि न्यूनिकरणका लागि प्रहरीले अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घरायसी विवाद भन्दै श्रीमतिले समेत उजुरी नदिने र छिमेकीले समेत चासो नदेखाउँदा हिंसाका घटना बढ्न थालेपछि जिल्लाभर अभियान सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

उहाँका अनुसार अधिकांश ग्रामीण भेगका महिलाहरु मदिराका कारण हिंसाबाट पीडित हुँदै आएका भएपनि यसको रोकथाम तथा नियन्त्रणका लागि भएका पहलहरुलाई थप प्रभावकारी बनाउन सचेतनामुलक अभियानलाई प्राथमिकता दिएको बताउनुभयो । त्यस्तै प्रहरीले सवारीसाधनका चालकलाई सवारी सुरक्षा, बालबालिकालाई दुब्र्यसनी बिरुद्धको अभियानका साथै जातिय छुवाछुत बिरुद्ध समेत अभियानलाई तिब्रता दिएको छ । दैनिकजसो प्रहरीले विभिन्न स्थानमा पुगेर कार्यक्रम गर्ने गरेको छ ।