म्याग्दीको अधिकांस बस्तीमा पनि अहिले सडक पुगेको छ। सडकको पहुँच पुगेका धेरै ठाउँमा सर्वसाधारणले समेत सहजताका लागि मोटरसाइकलन किन्ने गरेका छन् । सडक सञ्जाल पुगेका बस्तीहरुमा दैनिक मोटरसाइकल, अन्य सानाठूला साधन गुड्ने गरेको अवस्थामा पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७,ताकमका देविप्रसाद सुबेदीले भने करिब १ लाख हालेर घोडा किनेका छन् ।

करिब तिनदशक देखि पशुपालक कृषकहरुको सेवामा सक्रिय पशु प्राविधिक सुबेदीले सडक सञ्जाल नपुगेका बस्तीहरुसँगै सडक पुगेका ठाउँमा समेत घरमै सेवा दिने उद्देश्यले घोडा किनेका हुन् ।घरघरमै औषधिसहित पुगेर सेवा दिन मोटरसाइकलभन्दा सस्तो र भरपर्दो हुने भएकाले घोडा किनेको सुबेदीको भनाई छ ।

‘इन्जिनभन्दा भरपर्दो छ, दुर्घटनाको जोखिम पनि कम हुन्छ,‘मर्मतको खर्च लागेन’ सुबेदीले भने ।पशुपालक कृषकहरुले ब्यवसाय सञ्चालन गर्दै गर्दा आईपर्ने प्राविधिक समस्याहरुका बारेमा घर आँगनमै सेवा दिन पैदल र मोटरसाइकलभन्दा पनि सहज भएकाले घोडा किनेको सुबेदीले बताए । गाउँपालिकाको विकट बस्ती लुलाङ, मुदी सहित सडक सञ्जाल नपुगेका धेरै ठाउँमा घोडामै पुगेर सेवा दिने गरेको सुबेदीले बताए ।

उनले आफ्नो सेवा दिने तरिका देखेर केहीले घोडा समेत किनेको बताए दुधालु गाईभैंसीमा बाँझोपन निराकरण तथा पशु स्वास्थ्य सेवा घरदैलोमा पुग्ने क्रममा सेवाग्राही समेत उत्साहित हुने गरेका उनको भनाई छ ।

लामो समयदेखि ब्यवसायिकरुपमा गाईभैंसी, बाख्रापालन गर्ने कृषकहरुसँग घर घरमै पुगेर ब्यवसाय सञ्चालनकाक्रममा आईपरेका समस्याहरुकाबारेमा जानकारी लिने, घरमै पुगेर उपचार गर्ने, औषधि वितरण गर्ने र आवश्यक परामर्श दिने गरेका सुबेदीको सेवाबाट कृषक समेत सन्तुष्ट छन् ।

एउटा घोडा करिब २० बर्षसम्म टिकाउ हुन्छ । घोडामा लाग्ने खर्च कम भएकाले समेत ग्रामिण क्षेत्रमा महंगो हालेर मोटरसाइकल किन्न आवश्यक नभएको उनको तर्क छ । मर्ने अवस्थामा रहेका पशुचौपायाको उपचारसँगै भैंसीमा देखिएको बाँझोपनको कारण पत्ता लगाई औषधि उपलब्ध गराउँदा सुबेदीलाई यातायात खर्च सहितको सुविधा समेत कृषकले दिन्छन्।

उनले छोराको मोटरसाइकल सिक्ने रहर गरेपनि आफ्नो पेशा अनुसारको सवारीसाधन रोजेपछि परिवारका सदस्यले समेत घोडाको स्याहारसुसार र हेरचाहमा सघाउने गरेका छन् । धवलागिरी गाउँपालिकाको वडा नं १ गूर्जा, वडा नं २ लुलाङको बस्ती, मुदीका विभिन्न गाउँमा अहिलेसम्म सडक सञ्जालले छोएको छैन् । सडक सञ्जाल पुगेका बस्तीमा समेत मोटरसाइकल र अन्य सवारीसाधनको प्रयोग गर्ने सहज छैन् । वर्षाको समयमा ठाउँठाउँमा झरेको पहिराका कारण भएका सडकखण्ड पनि पूर्णरूपले अवरुद्ध हुने गरेको अवस्थामा समेत सहज सेवा दिन मिल्छ ।

Leave a Reply